अजिरकोट गाउँपालिकामा सामुदायिक मेलमिलापकर्ता सूची नवीकरण तथा अद्यावधिकका लागि आवेदन आह्वान

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/२०८४ का लागि सामुदायिक मेलमिलापकर्ताको सूची नवीकरण तथा अद्यावधिक प्रक्रिया अघि बढाएको छ। गाउँ कार्यपालिकाको कार्यालय, भच्चेकले एक सूचना जारी गर्दै इच्छुक मेलमिलापकर्ताहरूलाई ३० दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीद्वारा जारी सूचना अनुसार, अजिरकोट गाउँपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७५ को परिच्छेद ८ को दफा ६० बमोजिम यो प्रक्रिया सुरु गरिएको हो।

गाउँपालिकामा पहिले नै सूचीकृत भएका, आधारभूत तालिम प्राप्त गरेका वा आर्थिक वर्ष २०८२/२०८३ मा मेलमिलापकर्ताको रूपमा कार्य गरिसकेका व्यक्तिहरूले आगामी आर्थिक वर्ष २०८३/२०८४ मा पनि मेलमिलापकर्ताका रूपमा निरन्तरता दिन चाहेमा सूची नवीकरण तथा अद्यावधिक गराउनुपर्नेछ।

इच्छुक तथा योग्यता पुगेका मेलमिलापकर्ताहरूले सूचना प्रकाशित भएको मिति २०८३ साउन ०१ गतेदेखि ३० दिनभित्र अजिरकोट गाउँपालिकाको कार्यालयस्थित न्यायिक समिति सचिवालयमा सम्पर्क गरी आवश्यक निवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update