Odapalika - The Fourth Estate - चौथो अंग
पर्यटकीय स्थलहरूमा घोडा सवारीको व्यवस्था गर्दै अजिरकोट गाउँपालिका

काठमाडौँ । अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो ।

पालिकाको केन्द्र भच्चेक बजारदेखि अजिरकोट डाँडा, नम्की, सिरानडाँडा, नागेपोखरी, दुधपोखरी लगायतका स्थानसम्म घोडा सवारीको व्यवस्था गर्न लागिएको पालिका अध्यक्ष दिपक देवकोटाले बताए । पर्यटन प्रवद्र्धन मुख्य उदेश्य रहेको उनले जानकारी दिए । ‘पालिका आउने पर्यटकलाई लक्षित गरेर नयाँ नयाँ स्किम जोड्दै लगेका छौ,’ उनले भने, ‘सोही अन्तरगत अहिले घोडा सवारीको व्यवस्था गर्न लागेका हौ ।’

कार्यक्रममा साझेदार गर्न इच्छुक व्यवसायी, समूह तथा संस्थासँग पालिकाले आवेदन माग समेत गरिसकेको छ । १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन भनिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । ‘आवेदन प्राप्त भएपपछि इच्छुक व्यवसायी र सरोकारवालाहरुसँग बसेर बृहत छलफल गर्छाै,’ उनले भने, ‘कार्यक्रमको दिगोपनाका लागि एउटा मोडालिटी तयार पारेर अघि बढ्छौ ।’ यही बर्षबाट कार्यक्रम लागू हुने उनले जानकारी दिए ।

कार्यक्रम संचालनका लागि कार्यविधि बनेको छ । व्यवसायी छनोटका लागि पन्थीको नेतृत्वमा समिति समेत गठन भएको छ । ‘प्राप्त आवेदनहरुमध्ये व्यवसायी छनोटका लागि एउटा कार्यविधि छ, त्यही आधारमा हामी योग्य व्यवसायी छान्छौ,’ उनले भने । छनोट भएका व्यवसायीले घोडा खरिदमा पालिकाबाट ५० प्रतिशत अनुदान पाउने उनले जानकारी दिए ।

नीति तथा कार्यक्रममा समावेश गरेर पालिकाले प्रक्रिया अघि बढाएको हो । कार्यक्रमका लागि यो बर्ष दश लाख रकम विनियोजन भएको पन्थीले बताए । कार्यक्रम अन्तरगत पर्यटकीय स्थलसम्म पुग्ने घोरेटोबाटो स्तरोन्नती र आवश्यक पूर्वाधार निर्माणका काम पनि अघि बढाइने उनले जानकारी गराए । कार्यक्रम संचालन भएसँगै स्थानीयलाई रोजगारीको अवसर समेत मिल्ने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update