टेम्केमैयुङ गाउँपालिका दियो तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउने तालिम

 

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ । 

स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २०  किसानलाई तालिम दिइएको हो । 

हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजार व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ ।तिम्मा क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त मानिन्छ । यहाँ नजिकै जङ्गल, विभिन्न प्रजातिका फूल, बिरुवा तथा स्वच्छ वातावरण रहेकाले मौरीका लागि आवश्यक चरन क्षेत्र सहज रूपमा उपलब्ध छ । मौरीपालन व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेकाले यसतर्फ किसानलाई प्रोत्साहन गर्न तालिम दिइएको वडाध्यक्ष नरबहादुर राईले बताए ।

कृषिमा आधारित आयआर्जनका अवसर बढाउँदै स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मौरीघार बनाउने तालिम सञ्चालन गरिएको उनको भनाइ छ ।

‘तिम्मा क्षेत्रमा मौरीपालनको राम्रो सम्भावना छ । हाल यहाँ परम्परागत रूपमा मौरीपालन भइरहेको छ । अब आधुनिक घार निर्माण र व्यवस्थापनसँग जोड्न सके यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने हाम्रो विश्वास छ । सोहीअनुसार तालिम दिएका हौँ’, वडाध्यक्ष राईले भने ।

स्थानीय तहले आगामी दिनमा मौरीपालनलाई थप प्रवर्द्धन गर्न आवश्यक प्राविधिक सहयोग, सामग्री व्यवस्थापन तथा बजार पहुँचमा सहयोग गर्ने योजना बनाएको पनि उनले बताए ।

स्थानीय मौरीपालक कृषक दीपेन्द्र राउतले तालिम लिएपछि अब आफैँ आधुनिक घार निर्माण गर्न सहज भएको बताए । तालिमका अवसरमा मौरीपालनसँगै आधुनिक घार निर्माणसम्बन्धी व्यवहारिक सीप हासिल गरेको उनको भनाइ छ ।

व्यावसायिक मौरीपालनमार्फत मह उत्पादनसँगै मौरीबाट परागसेचनसमेत हुने भएकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषि विज्ञहरूको भनाइ छ । रासस

 

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update