बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरूलाई यथाशीघ्र विद्यालय स्तरिय छात्रवृत्ति छनौट तथा वितरण समितिु गठन गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आज एक पत्र जारी गर्दै यस्तो निर्देशन दिएको छ।
संस्थागत विद्यालयहरूबाट प्रदान गरिने छात्रवृत्ति वितरण कार्यलाई थप व्यवस्थित, पारदर्शी र नियमसंगत बनाउनका लागि यो कदम चालिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादद्वारा हस्ताक्षरित पत्र अनुसार, संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८२ को बुँदा नं. ११ मा भएको व्यवस्था बमोजिम विद्यालयहरूले सम्बन्धित वडा कार्यालयहरूसँग आवश्यक समन्वय गरी समिति गठन गर्नुपर्नेछ।
यसअघि जेठ २१ गते जारी गरिएको सूचनालाई स्मरण गराउँदै उपमहानगरपालिकाले चालू शैक्षिक सत्रमा भर्ना भएका कक्षागत विद्यार्थी संख्या र छात्रवृत्ति आवेदन फाराम अनिवार्य रूपमा कार्यालयमा बुझाउन समेत अनुरोध गरेको छ।
उपमहानगरपालिकाले नगरभित्रका २४ वटै वडा कार्यालयहरूलाई कार्यविधिको व्यवस्था बमोजिम प्रतिनिधि पठाई विद्यालयहरूमा समिति गठन प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिएको छ। साथै, कर्मचारी तथा जनशक्ति विकास शाखालाई यो सूचना सबै वडामा पठाउन र सूचना तथा प्रविधि शाखालाई यसलाई उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा अपलोड गर्न समेत भनिएको छ।
यो व्यवस्था लागू भएसँगै संस्थागत विद्यालयहरूमा विपन्न, जेहेन्दार तथा लक्षित वर्गका विद्यार्थीहरूले पाउने छात्रवृत्ति वितरण प्रणाली अझ बढी प्रभावकारी हुने विश्वास गरिएको छ।





