मधेश प्रदेश सरकारले भन्योः सामुदायिक स्कुललाई खेलकुद सामग्री चाहिने भए निवेदन दिनू

 

काठमाडौँ । मधेश प्रदेश सरकारले सो प्रदेशभित्रका सबै सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री आवश्यक पर्ने भए निवेदन दिन भनेको छ । 

प्रदेश सरकार अन्तरगतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले असार ५ गते सार्वजनिक सुचना प्रकाशन गरी निवेदन माग गरेको हो । सुचना प्रकाशन भएको मितिले ५ दिनभित्रमा निवेदन दिइसक्न मन्त्रालयले भनेको छ ।

‘खेलकुद तथा समाजकल्याण मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सामुदायिक विद्यालयहरुको मागका आधारमा खेलकुद सामाग्री वितरण गर्ने कार्यक्रम रहेकोले खेलकुद गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित तथा विद्यार्थीहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका सम्पूर्ण सामुदायिक विद्यालयहरुले यो सूचना प्रकाशन भएको मितिले ५ (पाँच) दिनभित्र आफ्नो वास्तविक आवश्यकता अनुसार खेलकुद सामग्रीको माग गर्न यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले प्रकाशन गरेको सुचनामा भनिएको छ ।

मन्त्रालयले निवेदनको साथमा विद्यालयको नाम, ठेगाना, स्थापना भएको साल, संचालित कक्षा अनुसार विद्यार्थी संख्यासहित विद्यालयको संक्षिप्त विवरण, विद्यालयसँग रहेको खेलकुद पुर्वाधार, सञ्चालनमा रहेको खेलकुद गतिविधि र खेलकुद सामाग्रीको मौजुदा अवस्था र आवश्यक खेलकुद सामग्रीको नाम, परिमाण र औचित्य पनि खुलाउनु पर्ने भनेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update