पौवादुङमा गाउँपालिकाले दियो २१ वटा कृषि फर्मलाई ३० लाख रुपैयाँ अनुदान

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन स्वरुप २१ फर्मलाई ६० लाख रुपैयाँ बराबरको सहयोग कार्यक्रम संचालन गरेको छ ।

यो सहयोग रकममध्ये गाउँपालिकाको ३० लाख रुपैयाँ खर्च भएको छ भने बाँकी ३० लाख रुपैयाँ कृषक आफैले लागत साझेदारीमा सहभागी भएका हुन् ।

स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्नको लागि गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार कार्यक्रमका लागि गाउँपालिकाबाट ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने कृषकहरूको तर्फबाट पनि ३० लाख रुपैयाँ लागत साझेदारी गरिएको छ । यसरी कूल रु ६० लाखको लगानीमा कार्यक्रम कार्यान्वयन गरिएको उनले जानकारी दिए ।

महिला विकास बोर्डअन्तर्गत सञ्चालित ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं ४, ५ र ६ का किसानलाई पशुपालनमा अनुदान सहयोग उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् । उनका अनुसार यसअघि सोही कार्यक्रममार्फत वडा नं १, २ र ३ मा उन्नत जातका गाई वितरण गरिएको थियो । चालु आर्थिक वर्षमा बाँकी वडामा कार्यक्रम विस्तार गरिएको हो ।

कार्यक्रमअन्तर्गत २० वटा बङ्गुरपालन फर्म र एक वटा बाख्रापालन फर्मलाई सहयोग गरिएको छ । किसानको ५० प्रतिशत लागत साझेदारी रहने यस योजनामा खोर निर्माण, पाठापाठी ९बङ्गुर तथा बाख्रा) खरिद र आवश्यक प्राविधिक सहयोगमा गाउँपालिकाले सहजीकरण गरेको जनाएको छ ।

उपाध्यक्ष राईका अनुसार यस कार्यक्रमले विशेषगरी ग्रामीण क्षेत्रमा आयआर्जनका नयाँ अवसर सिर्जना गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 

‘हामीले महिलालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेका छौँ । यसले घरपरिवारको आर्थिक अवस्था सुधार्न सहयोग गर्नेछ,’ उपाध्यक्ष राईले भनिन् ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकालाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘हामीले दूध र मासुमा आत्मनिर्भर गाउँपालिका निर्माणको लक्ष्य राखेका छौँ । गत वर्ष गाई वितरण गरेपछि यस वर्ष बङ्गुर र बाख्रापालन कार्यक्रम विस्तार गरेका छौँ । अहिले उत्पादन भएको दूध भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ,’ अध्यक्ष राईले भने ।

गाउँपालिकाको सहयोगमा आधुनिक खोर निर्माण गरी व्यावसायिक बङ्गुरपालनमा जुटेकी स्थानीय वर्तामाया राईले अनुदानले उद्यम सुरु गर्न सहज भएको बताइन् । उनले धरानबाट १० वटा उन्नत जातका बङ्गुर ल्याएर व्यवसाय सुरु गरेकी छन् ।

यस्तै, लिलामाया राईले महिलामुखी कार्यक्रम प्रभावकारी भएको बताउँदै घरायसी काममा सीमित महिलाहरूलाई आयआर्जनको अवसर प्राप्त भएको धारणा राखिन् ।

गाउँपालिकाको लागत साझेदारीमा आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा बंगुरपालन थालेको स्थानीयवासी अनिता राईको भनाइ छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update