भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । जनप्रतिनिधिको जिम्मेवारीका साथसाथमा उनी गाई पालन व्यवसायमार्फत उत्पादनमूलक क्षेत्रमा संलग्न छन् ।
तामाङले सञ्चालन गरेको फार्ममा हाल चार उन्नत जातका गाई रहेका छन् । व्यवस्थित रूपमा गाईपालन गर्दै आएका वडाध्यक्ष तामाङले आधुनिक तरिका अपनाउँदै उत्पादन बढाउने प्रयाससमेत गरिरहेका छन् ।
दैनिक रूपमा उत्पादन हुने दूध स्थानीय बजारमा बिक्री गर्दै उनी आम्दानी लिन सफल भएका छन् ।
दूध बिक्रीबाट सबै खर्च कटाएर मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनले बताए । तामाङका अनुसार जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै बाँकी समयलाई कृषि तथा पशुपालनमा लगानी गर्दा आर्थिक रूपमा सुदृढ बन्न सकिन्छ ।
‘समय व्यवस्थापन गरेर काम गर्न सकियो भने सरकारी जिम्मेवारीसँगै उत्पादनमूलक क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ । युवाहरू वैदेशिक रोजगारीमा जानुभन्दा गाउँमै केही गरेर देखाउनुपर्छ भन्ने मेरो सन्देश हो,’ उनले भने ।
गाईपालनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न सहयोग पुग्नुका साथै थप लगानीका लागि प्रेरणा मिलेको उनले बताए । पछिल्लो समय दानापानी, औषधि तथा व्यवस्थापनमा हुने खर्च बढे पनि उचित योजना र मेहनतले राम्रो प्रतिफल लिन सकिने वडाध्यक्ष तामाङको अनुभव छ ।
तामाङको यस पहलले स्थानीय किसानलाई समेत व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न मद्दत पुगेको छ । उनको फार्म अवलोकन गर्न आउने स्थानीयले गाईपालन सम्बन्धी जानकारी लिनुका साथै आफ्नै गाउँमा व्यवसाय सुरु गर्ने सोच बनाउने गरेका छन् । श्यामशिलाका ३९ जना किसानले उन्नत जातका गाई पाल्दै आएका छन् । यसले गाउँस्तरमै रोजगारी सिर्जना र आयआर्जन वृद्धि गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
पौवादुङमा गाउँपालिकाले समेत कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा जनप्रतिनिधि नै यस क्षेत्रमा सक्रिय हुनु सकारात्मक सङ्केतका रूपमा हेरिएको छ । स्थानीय तहले दिने अनुदान, तालिम तथा प्राविधिक सहयोगको प्रभावकारी उपयोग गर्न सकेमा किसानको जीवनस्तर सुधार गर्न सकिने सरोकारवालाको भनाइ छ ।
भविष्यमा गाईको सङ्ख्या बढाएर फार्मलाई अझ विस्तार गर्ने योजना रहेको तामाङले बताए । दूध उत्पादनसँगै अन्य दुग्धजन्य पदार्थ उत्पादनतर्फ समेत ध्यान दिने सोच उनको छ । गाउँमै बसेर मेहनत गर्दा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिँदै तामाङले युवाहरूलाई कृषि र पशुपालनतर्फ आकर्षित हुन आग्रह गरेका छन् ।
गाई फार्मबाट उत्पादन भएको प्राङगारिक मलको सदुपयोग गर्ने लक्ष्यले उनले करिव ३०० रोपनी क्षेत्रमा किबी खेतीसमेत विस्तार गरेका छन् । उनले थाल्नुभएको कामलाई परिवारका सदस्यले आवश्यक सहयोग गर्दै आएका छन् ।






