काठमाडौँ । सभामुख डीपी अर्यालको सचिवालयले सभामुख अर्याल र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटघाट भएको जानकारी दिएको छ ।
सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच कहिले भेटघाट भएको हो भन्ने बारेमा सचिवालयले केही खुलाएको छैन । र, प्रधानमन्त्री शाहको सचिवालयले पनि सभामुखसँग भेटघाट भएको बारेमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी दिएको छैन ।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाहले अहिलेसम्म औपचारिक कार्यक्रमबाहेक राष्ट्रपति तथा सभामुखसँग भेटघाट भएको जानकारी सार्वजनिक भएको छैन । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाह र राष्ट्रपतिबीच अहिलेसम्म औपचारिक कार्यक्रम बाहेक भेटघाट भएको छैन ।
यता सभामखु अर्याल र प्रधानमन्त्री शाहबीच पनि औपचारिक कार्यक्रममा बाहेक भेटघाट भएको जानकारी सार्वजनिक भएको थिएन । तर, आज भने सभामुख अर्यालको सचिवालयले प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको भनेर जानकारी दिएको हो ।
सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे तथा एमाले संसदीय दलका नेता रामबहादुर थापाबीच भेटघाट भएको फोटो सभामुख अर्यालको सचिवालयले सार्वजनिक गरेको छ ।
भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।
त्यसैगरी, मंगलबार नै सम्माननीय सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।




