विमानस्थलकाे निर्माणाधीन टर्मिनलभवनको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा जम्मा भएको वर्षाको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ।

छायाँनाथ रारा नगरपालिका–४, ताल्चास्थित ताल्चा विमानस्थलमा निर्माणाधीन शौचालयको करिब १४ फिट गहिरो सेफ्टी ट्यांकीमा जम्मा भएको पानीमा पौडी खेल्ने क्रममा स्थानीय जयबहादुर भामका ११ वर्षीय छोरा गौरव भामको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शनिबार दिउँसो करिब २ः४० बजे सेफ्टी ट्यांकी नजिकै बालकका लुगा र चप्पल देखेपछि स्थानीयले विमानस्थलका सुरक्षा गार्डलाई खबर गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै विमानस्थल सुरक्षा गार्डबाट सहायक प्रहरी निरीक्षक बिर्खराज गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयले सेफ्टी ट्यांकीमा जम्मा भएको पानी बाहिर निकालेपछि बालकलाई मृत अवस्थामा फेला पारिएको हो। 

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमान्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।

मृतक बालकका आफन्त र विमानस्थल आसपासका होटल व्यवसायीहरूले निर्माणाधीन टर्मिनल भवनको कामको जिम्मा लिएको ठेकेदार पक्षको लापरबाहीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन्।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा खुला अवस्थामा सेफ्टी ट्यांकी छाडिएको र त्यसको वरिपरि घेरबार तथा जोखिमबारे जानकारी दिने कुनै संकेत नराखिएको उनीहरूको भनाइ छ।

मृतक बालकका आफन्त बाच्याँ महतारका अनुसार करिब १० दिनअघि पनि ३ जना बालबालिका सोही खाल्डोमा पौडी खेल्न गएका थिए। त्यसमध्ये एक बालक डुब्न थालेपछि नेपालगन्ज जाने तयारीमा रहेका यात्रु अशोक खत्रीले खाल्डोमा हामफालेर उनको उद्धार गरेका थिए।

बालकको उद्धार गर्ने क्रममा खत्रीको करिब ७० हजार रुपैयाँ नगद पानीले भिजेको र ९० हजार रुपैयाँ पर्ने मोबाइल फोनसमेत बिग्रिएको घटनाले ठेकेदार पक्ष र अन्य निकाय सचेत हुनुपर्नेमा अहिले बालकको ज्यानै गएको छ। यो सबै ठेकेदार पक्षकै कारणले घटना घटेको स्थानीयले बताएका छन्।

उक्त टर्मिनल भवन निर्माणको जिम्मा ओम बुद्ध इन्टरनेशनल प्रालिले लिएको बताउँदै आफन्तहरूले निर्माणस्थलमा आवश्यक सुरक्षा व्यवस्था नगरेको आरोप लगाएका छन्। बालकको मृत्युको जिम्मेवारी ठेकेदार पक्षले लिनुपर्ने उनीहरूको माग छ।

घटनाको जिम्मेवारीबाट ठेकेदार पक्ष पन्छिन खोजे विमानस्थलमा हुने उडानसमेत रोक्ने र बालकको शव नबुझ्ने चेतावनी परिवार तथा आफन्तले दिएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही र निर्माणस्थलमा तत्काल सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update