काठमाडौँ । काभ्रेपलानचोक जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिकाभित्रका सहकारी संस्थाबाट ऋण लिएका सदस्यलाई समयमै ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।
सहकारी संस्थाबाट विभिन्न प्रयोजनका लागि ऋण लिएका तर तोकिएको समयावधि सकिएपछि पनि साँवा तथा ब्याज नतिरेका ऋणी सदस्यलाई सम्झौता, सर्त तथा कबुलियतअनुसार समयमै ऋणको साँवा–ब्याज भुक्तानी गरी जिम्मेवार सदस्यको दायित्व पूरा गर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।
समयमै कर्जाको सावाँ तथा व्याज तिर्नको लागि गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको उनको भनाइ छ । सहकारी संस्थाले पटक–पटक विभिन्न माध्यमबाट ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ताकेता गर्दा पनि कतिपय ऋणी सम्पर्कमा आउन नचाहेको जानकारी प्राप्त भएपनि यस्तो सुचना प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।
ऋणी सदस्यले समयमा ऋण नतिर्दा सहकारी संस्थाको वित्तीय अनुशासन, तरलता तथा सदस्यहरूको बचत सुरक्षामा प्रतिकूल असर पर्न सक्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सहकारी संस्थामा सदस्यले बचत गरेको रकमबाटै ऋण प्रवाह हुने भएकाले ऋणी सदस्यले आफूले लिएको ऋण समयमै चुक्ता नगर्दा अन्य बचतकर्ताको बचतसमेत जोखिममा पर्न सक्ने जनाएको छ।
सूचनामार्फत गाउँपालिकाले सम्बन्धित सबै ऋणी सदस्यलाई आफूले लिएको ऋणको साँवा तथा ब्याज समयमै चुक्ता गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।
त्यसैगरी, बेथानचोक गाउँपालिकाको सहकारी ऐन, २०८६ को परिच्छेद १३, दफा ६२ बमोजिम सहकारी संस्था वा दर्ता गर्ने अधिकारीले ऋण असुल गर्न तथा बाँकी बक्यौता असुलउपर गर्ने प्रयोजनका लागि सम्बन्धित व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था रहेको गाउँपालिकाले स्मरण गराएको छ।
गाउँपालिकाले उक्त कानुनी व्यवस्थासमेत ध्यानमा राखी सबै ऋणी सदस्यलाई तोकिएको समयभित्र ऋणको साँवा–ब्याज भुक्तानी गरी सहकारी संस्थाप्रतिको आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ।



