Odapalika - The Fourth Estate - चौथो अंग
सबै वडाका महिलालाई उद्यमशीलता तालिम दिएर बेथानचोक गाउँपालिकाले सुरु गर्यो कोसेली–घर

काभ्रे । बेथानचोक गाउँपालिकामा ‘कोसेली–घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो । 

कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । कोसेली घर थप व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै उनले उद्यमशीलता विकाससँगै आर्थिक समृद्धिमा कोसेली घर प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

‘उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय गरी प्रदेश सरकारले सहयोग गर्नेछ,’ मन्त्री बादेले भने ।

प्रदेश सरकारको १८ लाख २१ हजार दुई सय ८५ रुपैयाँ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा ३६ लाख ४२ हजार पाँच सय ७० रुपैयाँमा कोसेली घर सञ्चालनमा ल्याइएको हो । 

उक्त कोसेली घरबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, बीउ पुँजी वितरण, महिला उद्यमी समूहबाट उत्पादित सामग्री खरिद तथा कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिने जनाइएको छ ।

गाउँपालिकाका अनुसार स्थानीय एक सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिइसकेका छन् । जसमध्ये दुई महिला उद्यमी समूह गठन गरी रु एक/एक लाखका दरले बीउ पुँजी वितरण गराइएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आर्थिक समृद्धिका लागि गृहिणी महिलालाई उद्यमसँग जोड्दै सशक्तिकरणको उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।

अध्यक्ष अधिकारीका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ । वडा नं १ मा बुनाइ तालिम, सर्वोत्तम लिटो, सातु, बाटेको धूप, ३ नं मा कोलिन, सरफ, डल्लो साबुन, झोल साबुन, वडा नं ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने तालिम सञ्चालन गरिएको थियो । 

यस्तै वडा नं ५ मा सिलाइकटाई र वडा नं ६ मा अमिलो जातका फलफूलखेती तालिम सञ्चालन गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम काभ्रेसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका ४० स्थानीय तहमा सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update