अजिरकोट गाउँपालिकाले दियो सहकारीका ऋणीलाई ३० दिनभित्र कर्जा तिर्न निर्देशन

 

काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाबाट कर्जा लिएर लामो समयदेखि भुक्तानी नगर्ने ऋणी सदस्यलाई ३० दिनभित्र साँवा, ब्याज तथा हर्जना बुझाउन निर्देशन दिएको छ।

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले विभिन्न सहकारी संस्थाबाट उत्पादनशील, व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिएका सदस्यहरूले तोकिएको समयमा भुक्तानी नगर्दा सहकारीका बचतकर्ता तथा शेयर सदस्यसमेत प्रभावित भएकोले ३० दिनभित्र तिर्न बुझाउन भनिएको जानकारी दिए ।

यसको लागि गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेको छ । गाउँपालिकाका अनुसार सहकारी संस्था जनताको बचत तथा पुँजी परिचालन गर्ने संस्था भएकाले सहकारीको वित्तीय स्वास्थ्य कमजोर हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न सक्छ। त्यसैले सहकारी संस्थाको वित्तीय अवस्था सबल राख्दै बचतकर्ताको रकम सुरक्षित गर्ने उद्देश्यले ऋण असुलीमा सहजीकरण गर्न लागिएको हो।

गाउँपालिकाले सहकारी संस्थाका पदाधिकारी तथा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरी ऋण असुलीका लागि आवश्यक पहल गर्ने निर्णय भएको जनाएको छ।

संघीय सहकारी ऐन २०७४, नियमावली २०७५, गण्डकी प्रदेश सहकारी ऐन २०७५ तथा नियमावली र अजिरकोट गाउँपालिकाको सहकारी ऐन २०७५ लगायत प्रचलित कानुनअनुसार ऋणीलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित सहकारी संस्थामा उपस्थित भई कर्जाको साँवा, ब्याज, हर्जना तथा अन्य दस्तुर अनिवार्य रूपमा चुक्ता गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

निर्धारित ३० दिनभित्र कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेमा वा कर्जा फर्छ्योटका लागि सम्बन्धित सहकारीसँग समन्वय नगरेमा सम्बन्धित सहकारी ऐन, नियमावली तथा संस्थाको विनियममा उल्लेखित कानुनी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाउन गाउँपालिकाले सम्बन्धित सहकारी संस्थालाई जानकारी गराएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update