निर्वाचन सडक पाँच वर्षदेखि अलपत्र, स्थानीय मात्रै होइन वडाध्यक्ष नै सुनाउँछन् गुनासो

 

मुगु । मुगुको बहुप्रतीक्षित पिना–कुटोला–घट्टलेख–मुन्दु निर्वाचन सडक आयोजना निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अलपत्र परेको छ ।

ठेक्का सम्झौताको अवधि सकिएर म्याद थप गरिए पनि सडक निर्माणले गति लिन सकेको छैन ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति १० प्रतिशत मात्रै छ । कार्यालयका अनुसार हालसम्म करिब एक करोड दुई लाख रुपियाँ बराबरको काम भएको छ ।

छायानाथ रारा नगरपालिका–१० का स्थानीय कमल बुढाका अनुसार सडकको जिरो पोइन्ट रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भन्दै निर्माण कम्पनीले लामो समयदेखि निकुञ्जको विषयलाई कारण देखाउँदै काम अघि बढाएको छैन । तर सडकको जिरो पोइन्ट पिनाबाटै सुरु हुने उहाँको भनाइ छ ।

‘निर्माण कम्पनीले निकुञ्जको बहाना देखाएर वर्षौँदेखि सडक निर्माणको काम अघि बढाएन । यसले स्थानीयलाई सास्ती भएको छ,’ उनले भने ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार आयोजनाको नाम सुरुमा रारा–सल्लेरी–पिना–कुटोला–घट्टलेख–मुन्दु रहेको थियो । निर्माण व्यवसायीले सल्लेरी र राराको जिरो पोइन्ट रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भन्दै छायानाथ रारा नगरपालिका–८ को वडा कार्यालयबाट सिफारिस ल्याएपछि निर्माणमा समस्या आएको उनले बताए ।

‘अहिले स्टिमेट संशोधन गरेर जिरो पोइन्ट पिनाबाट राखिएको छ,’ कार्यालय प्रमुख महताराले भने ।

कार्यालयका अनुसार ६० करोड रुपैयाँ सिलिङ बजेट रहेको आयोजनाको ठेक्का प्रतिस्पर्धामार्फत ३५ करोड ५५ लाख रुपैयाँमा शेर्या कन्स्ट्रक्सन प्रालिले पाएको हो । सडक डिभिजन कार्यालय जुम्ला र निर्माण कम्पनीबीच २०७९ साउन १८ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार निर्माण अवधि २०८३ असार २७ गतेसम्म रहेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि केन्द्र सरकारको नियमअनुसार निर्माण कम्पनीको म्याद २०८४ असार मसान्तसम्म थप गरिएको कार्यालयले जनाएको छ ।

सम्झौताअनुसार करिब १० किलोमिटर सडकमा ग्याबिन वाल, सिमेन्टेड वाललगायत संरचना निर्माण गर्नुपर्नेछ । तर निर्माण कम्पनीले अपेक्षित गतिमा काम नगर्दा आयोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको स्थानीयको गुनासो छ ।

छायानाथ रारा नगरपालिका–६ का स्थानीय पञ्चबहादुर ऐडीका अनुसार पिनाबाट सुरु हुने सडक कुटोला हुँदै घट्टलेख र मुन्दुसम्म पुग्ने योजना छ । सडक निर्माणमा भएको ढिलाइले स्थानीयको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको उनले बताए ।

‘सडक निर्माण छिटो सम्पन्न भए सदरमुकामबाट विकास निर्माणका सामग्री गाउँसम्म ल्याउन सहज हुन्छ । गाउँमा उत्पादन हुने आलु, कोदो, सिमी जस्ता खाद्यान्न बाली बजारसम्म लैजान पनि सहज हुनेछ,’ ऐडीले भने ।

सडक निर्माणमा भएको ढिलाइबाट स्थानीय नागरिकसँगै बिरामी बढी प्रभावित भएको स्थानीयको भनाइ छ । वर्षौँदेखि सडक निर्माण हुने आशामा रहेका स्थानीयको आशा निराशामा परिणत हुन थालेको छायानाथ रारा नगरपालिका–६ का स्थानीय विर्खबहादुर बोहराले बताए ।

छायानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेम रावलले सडक निर्माणको सुस्त गतिबारे पटक–पटक निर्माण कम्पनी, सडक डिभिजन कार्यालय जुम्ला तथा सम्बन्धित निकायलाई जानकारी गराए पनि प्रभावकारी सुनुवाइ नभएको बताए ।

‘तत्कालीन प्रमुख जिल्ला अधिकारीसमक्ष समेत समस्या राखिएको थियो । तर अहिलेसम्म प्रभावकारी पहल हुन सकेको छैन,’ उनले भने ।

निर्माण कार्यमा संलग्न स्थानीय मजदुरले पारिश्रमिक नपाएको गुनासोसमेत गरेको वडाध्यक्ष रावलले बताए ।

उनका अनुसार दुर्गम जिल्लामा ठेक्का रकम अत्यधिक घटाएर ठेक्का लिने, समयमै काम नगर्ने, पटक–पटक बहाना बनाएर आयोजना अलपत्र पार्ने र सम्बन्धित निकायले प्रभावकारी कारबाही नगर्ने प्रवृत्तिले विकास निर्माण प्रभावित हुँदै आएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update