Odapalika - The Fourth Estate - चौथो अंग
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्थापकीय नेतृत्व कुनै एउटा गैरसरकारी संस्था (एनजीओ) लाई बुझाउन पहिला प्लट तयार पारेर सोही अनुसार प्रक्रिया अघि बढाएको खुलेको छ ।

गृहमन्त्री लेखक र गृह सचिव गोकर्णमणि दुवाडीको मिलेमतोमा खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोट गरे जस्तो देखाएर एनजीकोको स्वार्थ अनुसारको व्यक्तिलाई नियुक्त गर्ने प्रपन्च रचिएको तथ्य खुलेको हो ।

गृह मन्त्रालयले गत मंसिर १४ गते प्राधिकरणको सिइओ छनोटको लागि विज्ञापन प्रकाशन गरेको थियो । सो विज्ञापनमा १६ जनाले आवेदन दिएका थिए । आवेदन दिदा नै एउटा निश्चित एनजीओको निश्चित व्यक्तिलाई नियुक्त गर्न मिल्ने गरी मिलेमतो गरेको घटनाक्रमले पुष्टी गरेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार तोकिएको समयभित्र प्राधिकरणको सिइओका लागि १६ जनाको आवेदन परेको थियो । यसरी आवेदन दिनेहरुमध्ये २ जना भने एउटै एनजीओमा संलग्न व्यक्तिहरु छन् ।

16-jana-new-nomber-1739357411.jpg
वडापालिकाले फेला पारेको तथ्य अनुसार सिइओका लागि डिजास्टर प्रिपियर्डनेस नेटवर्क नेपाल (डिपी नेट) ले यसपटक पनि प्राधिकरणको व्यवस्थापन जिम्मा लिने गरी आवेदन गरेको छ । यसअघिका सिइओ अनिल पोखरेल पनि डिपी नेटसँग आवद्ध व्यक्ति हुन् ।

प्राधिकरणमा पुनः कब्जा जमाउनको लागि डिपी नेट आवद्ध राजु थापा र बसन्तराज अधिकारीले आवेदन दिएका थिए । थापा डिपी नेटको अहिले अध्यक्ष छन् भने डा. अधिकारी सोही एनजिओको प्राविधिक सल्लाहकार छन् । प्राधिकरणका यसअघिका सिइओ पोखरेल डिपी नेटकै सल्लाहकार हुन् ।

प्राधिकरणको सिइओ जसरी भएपनि प्राप्त गर्ने गरी डिपी नेटले गृहकार्य गरेको स्रोतले बतायो ।

‘डिपी नेटबाट २ जनाले आवेदन दिए । त्यसमध्ये अन्तिम ५ जनाको सुचीमा एउटाको नाम अनिवार्य समावेश गर्ने भन्ने रणनीति देखिन्छ । सोही अनुसार बसन्तराज अधिकारी अन्तिम ५ मा छनोट भएका स्पष्टै छ,’ प्राधिकरण स्रोतले भन्यो । मन्त्रालयले प्रकाशित गरेको अन्तिम ५ जनाको नामावलीमा अधिकारी छनोट भएका छन् भने डिपी नेटका अध्यक्ष थापा अन्तिम ५ मा परेका छैनन् ।

सरकारले २०७६ सालमा प्राधिकरण गठन गरेको हो । सो प्राधिकरणको पहिलो सिइओको रुपमा पोखरेल नियुक्त भएका थिए । उनी कार्यकाल पूरा गरेर अवकाश भइसकेका छन् ।

डिपी नेटलाई यसपालि पनि व्यवस्थापन सुम्पन गृहमन्त्री लेखक र गृहसचिव दवाडीले पहिला प्लट तयार पारेर प्रतिस्पर्धाको प्रक्रिया अगाडि बढाएका स्रोतले बतायो । गृहमन्त्री लेखकले अव जसरी भए पनि अधिकारीलाई प्राधिकरणको सिइओ बनाउने गृहकार्य अघि बढाइरहेको स्रोतको दाबी छ ।

‘यसपालि प्राधिकरणको सिइओ व्यक्ति होइन, सस्था छनोट हुँदैछ । डिपी नेटले वसन्त अधिकारीलाई अघि सारेको छ । उनी नै प्राधिकरणको सिइओ बन्ने निश्चित जस्तै देखिन्छ,’ प्राधिकरण स्रोतले भन्यो ।

स्रोतको यो दाबी पुष्टी हुने आधार पर्याप्त देखिन्छ । किनभने प्राधिकरणको सिइओ बन्नको लागि न्यूनतम भनेर तोकिएको योग्यतामा प्रसस्त कैफियत देखिने व्यक्तिहरु पनि अन्तिम ५ जनामा परेका छन् ।

5-jana-1739357540.jpg
‘अन्तिम ५ जनामा परेका मन्दिप सुवेदी, दिनेश प्रसाद भट्ट र धर्मराज उप्रेतीको योग्यतामा प्रसस्त कैफियत देखिन्छ । तर, उनीहरु अन्तिम ५ मा परे । यसको सोझो अर्थ के हो भने वसन्तराज अधिकारीलाई प्राधिकरणको सिइओ बनाउन अब कुनै व्यवधान छैन,’ स्रोतले भन्यो ।

प्राधिकरणको सिइओको लागि भनेर अन्तिम ५ जनामा परेका सुेवेदी भट्ट र उप्रेतीको अनुभव नपुगे पनि आधिकारिकता पुष्टी नहुने कागजात पेश गरेका आधारमा जथाभावी नम्बर दिइएको आरोप गृहमन्त्री लेखक र गृह सचिव दवाडीमाथि लागेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update