
काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दामा सर्वाेच्च अदालतले डिल गरिराखेको आरोप लगाएका कांग्रेस महामन्त्री गगनकुमार थापा विरुद्ध सर्वोच्च अदालतको अवहेलनाको मुद्दा दर्ता भई मंगलबार पेसी तोकिएको छ ।
अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिले अदालतको सम्मानमा आंच आउने काम भएको र अदालतको मर्यादालाई होच्याउने कार्य भएको आरोप लगाउंदै निवेदन दिएका हुन् ।
महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वाेच्च अदालतले ‘डिल’ गरिरहेको आरोपले विचाराधीन मुद्दामाथि हस्तक्षेप गरेको पनि अवहेलना मुद्दामा आरोप लगाइएको छ ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाउनु भएको विषय विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको छ । थापाले बोलेको भिडियो सहितको अखबारको प्रकाशित समाचारको प्रमाण समेत निवेदनपत्रमा पेश भएको छ ।
सम्मानीत सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सीधाकुरा डटकमको मुद्दामा समेत अदालतको विचाराधिन मुद्दामा प्रभावित गर्ने तथा सम्मानीत अदालतको मान सम्मानलाई तल पार्ने उद्धेश्यले गरिएको टिप्पणीलाई अवहेलनाजन्य मानी सजाय गरेको प्रसंग समेत उल्लेख गरी महामन्त्री थापालाई उपस्थित गराई हदैसम्मको सजायको माग समेत निवेदनपत्रमा गरिएको छ ।