
काठमाडौँ । नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जग पूजा र शिलान्यास गरे ।
शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले सम्पदा मूल्य अन्य कुनै बस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताउँदै मौलिक स्वरुपमा सम्पदा पुनरुत्थानमा महानगरपालिकाले लगानी बढाएको बताइन् । मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उनको भनाइ छ ।
हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरुपमा फिर्ता लैजान काम गरिरहेका भन्दै वडाध्यक्ष प्रजापतीले फल्चा निर्माण यसको एउटा इटा भएको बताए ।
भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।
भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ । २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
यो स्थानमा २०१९ सालदेखि पुस्तकालय सञ्चालन रहेको हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यससँगैको फल्चा भने स्थानीय पैँता खलले प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।
भवनका सामुन्ने भीमसेनको मन्दिर छ । यो स्थानलाई महाभारत कालमा भीमसेनले किचक राक्षसलाई वध गरेको स्थानका रुपमा लिइन्छ । वध गरिसकेको किचक उठेर फेरि जनतालाई दुःख देला कि भनेर भीमसेनले कुरेर बसेको स्थान हो ।
लोककथन अनुसार अन्य दिन भीमसेनले कुर्छन् । टुँडालदेवी जात्राको एक दिन देवीले कुर्छिन् । यसका लागि जात्राका दिन एक रात देवीको खट मन्दिर छेउको चौबाटोमा राख्ने गरिन्छ । यो स्थानमा किचकको प्रतीक स्वरुप ठुलो ढुङ्गो छ । सडक विस्तारका क्रममा ढुङ्गालाई यताउता सार्ने गरिन्छ ।