
काठमाडौँ । भारतको रियालिटी शो इण्डियन आइडलका कलाकार संलग्न सांगीतिक कार्यक्रम सकिएको भोलिपल्ट काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरवार हेरचाह अड्डालाई स्पष्टिकरण सोधेको छ ।
बुधवार हनुमानढोका दरवारभित्रको लौह चोकमा भारतीय कलाकारसहितको संगीतिक कार्यक्रम थियो ।
कार्यक्रमको एक साताभन्दा लामो समयदेखि भव्य प्रचार गरिएको थियो । तर कार्यक्रम हुनुअघि काठमाडौँ महानगरले हनुमानढोका दरवार क्षेत्रमा परम्परागत सांस्कृतिकबाहेकका कार्यक्रम गर्न पाइदैन भनेर सचेत नै गराएन ।
तर कार्यक्रम सकिएको भोलिपल्टै महानगरको सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले हनुमानढोका दरवार हेरचाह अड्डालाई पत्र लेख्दै कसले र कसरी कार्यक्रम गरेको हो जानकारी दिन भनेको छ ।
विगतमा यो चोकमा परम्परागत नाचगान र मेलाबाहेक ठूलो स्वरमा हुने सांगीतिक कन्सर्ट र भोज नगर्ने सहमति थियो । तर सहमति विपरित यो कार्यक्रम गर्न कसले अनुमति दियो र अनुमति दिनेबेलासम्म महानगर किन मौन बस्यो भन्ने गम्भीर प्रश्न उठेको छ ।