Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटाका बाख्रापालक कृषकले पाए चिटिक्कको खोर 

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बाख्रापालक कृषकहरुलाई नगरपालिकाले साझेदारीमा खोर बनाइदिएको छ । 

बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजनाअन्र्तगत नगरपालिकाका ६ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो ।

सिमेन्टका पिल्लर, काठ, नट, बोल्ट, फलामका किला, जस्तापाता, तारजालीको प्रयोग गरी हिमालयन नेचर, नगरपालिका र किसानको संयुक्त साझेदारीमा सुरक्षित खोर निर्माण गरिएको हो ।

हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्र्तगत पर्ने सुनदेवी मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १०, ६ र ७ मा गरी १३ र त्रिशक्ति मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नं १, २ र ५ मा गरी १३ बाख्रापालनका लागि खोर निर्माण गरिएको छ । 

खोर निर्माणका लागि प्रति किसानलाई हिमालयन नेचरले २५ हजार, नगरपालिकाले १५ हजार र बाख्रापालक किसानले ५ हजार रुपैयाँ लगानी गरको छन् । 

नगरपालिकाको वडा नं ७ का बाख्रापालक किसान रमेश दमाईले निकुञ्ज नजिकैको बस्ती भएकाले चितुवा लगायतका जनावरले गोठबाटै तानेर बाख्रा खाइदिने गरेकामा सुरक्षित र व्यवस्थित तरिकाले खोर निर्माण गरिएपछि बाख्रालाई जोगाउन सकिएको बताए ।

नगर प्रमुख रणबहादुर महराले व्यवस्थित तरिकाले खोर निर्माण गरिएकाले खोर सफा, सुक्खा र हावा चल्ने भएकाले बाख्रालाई रोग कम लाग्ने, परजिवीको सङ्क्रमण कम हुने र चिसो र तापबाट बचाउन सहयोग पुग्ने बताए । 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update