Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको छात्रवृत्तिमा १७ हजारकाे रुचि, विज्ञानमा मात्रै ७१ प्रतिशत

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले दिने छात्रबृत्तिमा अध्ययन गर्न ७७ जिल्लाका १७ हजार २२० जना विद्यार्थीले रुचि देखाएका छन् । 

महानगरले मागेको आवेदनमा सो संख्यामा विद्यार्थीको आवेदन परेको महानगरले जनाएको छ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेको थियो । उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२० विद्यार्थीले आवेदन दिएका हुन् ।

शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जना छन् । 

तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीको उच्च आकर्षण देखाएको छ । विज्ञानमा रुचि राख्नेहरु आवेदकमध्ये ७१ प्रतिशत छन् । हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन १ गते देखि विद्यार्थीले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने महानगरको भनाइ छ । प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको वेवसाइटमा  गएर “एडमिट कार्ड“ बटनमार्फत आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ । 

छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३० वटाका दरले प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ ।

परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ । यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण सस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update