
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै साउन र भदौ महिनाभित्रमा सामाजिक सुरक्षा भत्ता लिनेको विवरण अद्यावधिक गर्न भनेको छ ।
विभागले असार ३० गते गरेको परिपत्रमा सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण र नयाँ लाभग्राहीको सुचीकरण आगामी भदौ महिनाभित्रमा सक्न भनेको हो ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम (९) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को नियम (४) मा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भएर सामामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गराउनु पर्ने भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार विभागले स्थानीय तहहरुलाई परिपत्र गरेको हो ।
विभागले यस्तो परिपत्र गरेपछि देशभरका स्थानीय सरकारहरुले सामाजिक सुरक्षा भत्ता परिचयपत्र लिएका नागरिकलाई आफ्नो परिचयपत्र नवीकरणको लागि सार्वजनिक सुचना प्रकाशन गरेका छन् । स्थानीय सरकारहरुले सम्बन्धित वडा कार्यालयमा आएर परिचयपत्र नवीकरण गर्न अनुरोध गरेका हुन् ।
यद्यपि, वडा कार्यालयहरुमा उपस्थित हुन नसक्ने नागरिकलाई वडा कार्यालयहरुले उनीहरु बसेकै स्थानमा गएर पनि परिचयपत्र नवीकरण तथा नयाँ लाभग्राही सुचीकरण गरिरहेका छन् ।