
काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशका जिल्लामा खानेपानी र सिँचाइको सङ्कट व्यहोरिरहेका नागरिकलाई सहायता गर्न उनले निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले तराई–मधेशका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा भर्चुअल रूपमा आयोजित समन्वयात्मक बैठकमा गृहमनत्री लेखकले खानेपानी र सिँचाइको समस्याग्रस्त स्थानमा प्राथमिकताका आधारमा डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने ठाउँ पहिचान गर्ने कार्यका लागि समन्वय र सहजीकरणका लागि काम गर्न आग्रह गरे ।
सङ्कटको अवस्थामा फाइदा उठाएर कसैले कार्टेलिङ र कालोबजारी गर्नसक्ने भएकाले अनुगमन गर्न पनि उनको निर्देशन छ ।
सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।