
काठमाडौँ । बागमती प्रदेश सरकार रोचक मोडमा पुगेको छ ।
कांग्रेस संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री बहादुरसिंह तामाङले पदबाट राजीनामा गर्ने आश गरिएको समयमा उनले रिक्त मन्त्री पदमा ३ जनालाई नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले सरकारमा तीन मन्त्री नियुक्त गरेका हुन् ।
बागमती प्रदेशमा कांग्रेस संसदीय दल उपनेता रामकृष्ण चित्रकारका अनुसार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त भएका छन्।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको जिम्मेवारी तोकिन बाँकी छ।
बागमतीमा कांग्रेसका चार मन्त्रीहरू आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा दिएका थिए।
त्यसको भोलिपल्ट मुख्यमन्त्रीले राजीनामा स्वीकृत नगरी उनीहरूलाई बर्खास्त गरेका थिए।
राजीनामा दिएका चार मन्त्रीसहित २१ सांसदले संसदीय दल नेताबाट लामालाई हटाउन हस्ताक्षर गरेका थिए। मन्त्रीहरूले दिएको राजीनामा आफूसमक्ष आइनपुगेको र दल नेतालाई नै हटाउन हस्ताक्षर गरेको भनेर मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गरेको दाबी गरेका थिए।
साउन १३ मा श्याम खड्काले पनि राजीनामा दिएपछि बागमतीमा पाँच मन्त्रालय रिक्त छ ।