Odapalika - The Fourth Estate - चौथो अंग
हेटौडाको रमिताः मुख्यमन्त्रीले खोज्दा पनि भेटेनन् प्रदेश प्रमुख, स्वकीयले बुझाए मुख्यमन्त्रीको राजीनामा

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा बझाउन खोज्दा पनि प्रदेश प्रमुखसँग भेट्न नपाएपछि स्वकीय सचिव मार्फत राजीनामा बुझाएका छन् ।

केही दिनअघि ३ मन्त्री नियुक्त गरेर शपथ गराउन खोज्दा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ‘अचानक विरामी परेर’ उपचारको लागि काठमाडौँ आएका थिए ।

आज दिउसो राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय गएका मुख्यमन्त्री लामाले उनलाई नभेटेपछि आफ्ना स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र बुझाइदिनु भन्दै उनी काठमाडौँ आएका छन् ।

प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्री लामाले राजीनामा बुझाएपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनको लागि प्रक्रिया सुरु गरिसकेका छन् । नयाँ मुख्यमन्त्रीका लागि कांग्रेस नेता ईन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । निवर्तमान मुख्यमन्त्री लामा पनि कांग्रेस नेता नै हुन् ।

मुख्यमन्त्री लामाले राजीनामा दिनुअघि पत्रकार सम्मेलन गरेका थिए । लामा पत्रकार सम्मेलन लगतै आइतबार साँझा राजीनामा बुझाउन हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले लामा त्यसै फर्किएका थिए । त्यसपछि राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ उनी काठमाडौँ हिडेका हुन् ।

साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएका हुन् । मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update