
काठमाडौँ । अहिले देशभरका स्थानीय तहले राम्रोसँग राजस्व संकलन र कुनै पनि भुक्तानी गर्न पाएका छैनन् । स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा समस्या आएका कारण स्थानीय तहहरुले कर्मचारीलाई तलब समेत दिन समस्या भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण एक सातासम्म सुत्र बन्द रहेको र अहिले अत्याधिक चापका कारण समस्या उत्पन्न भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
हाल सबै निकायले एकसाथ प्रणाली संचालन गर्दा अत्याधिक चाप रहेको, वडादशैको कारण सबै प्रकारका निकासाहरु र खर्च प्रणालीको काम हुदा प्रयोगकर्ता वढी भएको र प्रतिवेदन तयारी एवम लेखापरीक्षणको काम भइरहेको पालिकाहरुको कर छुट अवधिका कारण करदाताहरु कर तिर्ने चाप अति रहेको जस्ता कारणले सुत्र प्रणालीमा समस्या आएको महालेखाको भनाइ छ ।
‘प्रणालीको क्षमता सिमित हुदा एक साथ सेवा प्रवाह गर्न समस्या भएको महालेखा नियन्त्रक कार्यालयवाट कार्यालय समय र बिदाको दिनमा प्रणालीको क्षमता बढाउने काम गर्नु परेको कारणले सुत्र प्रणालीमा केही समस्या भइ प्रभावकारी बनाउन गुनासो लिखित र मौखिक रुपमा वढीरहेको अवस्था छ,’ महालेखाले भनेको छ ।
यस्तै, केही पालिकाहरुले बिहान ७ वजेदेखि नै कर संकलन कार्य गरेको, विहान र वेलुका प्रणाली अतिराम्रो भएको सुत्र प्रणाली मर्मत एव साना साना क्षमता वढाउने कार्य भईरहेको, इएफटी सर्भरमा क्षमता वढाउने काम भइरहेको हुदा दिनको ११ देखि ३ वजे सम्म प्रयोगकर्ता वढी हुदा असोज ७ देखि असोज १० गतेसम्म सुत्र प्रणाली सुस्त हुने महालेखाको भनाइ छ ।
कहिलेदेखि सहज हुन्छ ?
महालेखाले यस्तो सुचना जारी गरेपछि वडापालिकाले महालेखा नियन्त्रकको कार्यालयका प्रवक्तासमेत रहेका सहमहालेखा नियन्त्रक दीपक लामिछानेसँग सम्पर्क गरी दसैँअघि नै सहज रुपमा सुत्र चलेर स्थानीय तहका कर्मचारीले तलब खान पाउँछन् भनेर सोधेको छ । सो प्रश्नमा प्रवक्ता लामिछानेले अबको केही दिनमा नै समस्या समाधान भइसक्ने बताए ।
‘अहिले देखिएको मुख्य समस्या भुक्तानी गर्दा भुक्तानी गर्नेको बैंक खाताबाट रकम घट्ने तर जम्मा हुनुपर्नेको खातामा रकम जम्मा नहुने हो । भोलि विहान (असोज ८ गते) सम्म बाँकी रहेका चेकको समस्या समाधान भइसक्छ । हाम्रो प्राविधिक टीम २४ सै घण्टा सक्रिय भएर समस्या समाधानको पहल गरिरहेको छ । केही दिनभित्रमा सबै समस्या समाधान हुन्छ,’ लामिछानेले वडापालिकासँग भने ।
उनले दसैँअघि नै सुत्रमा देखिएको समस्या समाधान हुने र स्थानीय तहका कर्मचारीले दसैँअघि नै तलब लिन समस्या नहुने उनले बताए ।