Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी, ऐन माग्दै कर्मचारी धनगढीमा 
फाइल तस्विर

काठमाडौँ । स्थानीय सेवा गठन तथा संचालन सम्बन्धी कानुन माग्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुमा तालाबन्दी गरिएको छ । 

स्थानीय तह प्रदेश कर्मचारी संघर्ष समितिको आह्वानमा आजबाट सबै स्थानीय तहको अत्यावश्यकबाहेकका कामकाज ठप्प पारिएको छ । 

संघर्ष समितिका संयोजक झलक बहादुर दौल्यालका अनुसार २७ बैशाखमा सबै स्थानीय तहमा अत्यावश्यकबाहेकका कामकाज ठप्प पार्ने पत्र संघर्ष समितिले पठाएको थियो । 

सो पत्रअनुसार हरेक पालिकामा बनेका संघर्ष समितिको अगुवाइमा पालिकाहरुमा तालाबन्दी गरेर काम ठप्प पारिएको छ ।  प्रदेश कर्मचारीहरुको यो निर्णयसँगै सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा तालाबन्दी छ । 

संघीय निजामती सेवा ऐनमा आफ्ना माग समेट्न दवाव दिन भन्दै स्थानीय तहका देशभरका कर्मचारी पनि आन्दोलनमै छन् । उनीहरुले १६ जेठबाट काठमाडोँ केन्द्रीत निर्णायक आन्दोलन गर्ने चेतावनी दिइसकका छन् ।  आजबाट सुरु भएको तालाबन्दी प्रदेश कानुनको सुनिश्चितता नभएसम्म जारी रहने कर्मचारीहरुको भनाइ छ । 

आज सबै स्थानीय तहका काम ठप्प पारेर कर्मचारीहरुले भोलिवाट मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरकारी पोशाकमै धर्ना दिने भएका छन् । संघर्ष समितिले आन्दोलनलाई निर्णायक बनाउन भन्दै सबै कर्मचारीलाई अनिवार्य उपस्थित हुन भनेको छ ।  धर्नास्थलमै कर्मचारीको हाजिर गर्ने संघर्ष समितिका पदाधिकारीहरुको योजना छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update