कैलाली - आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले गत असोज १० गतेदेखि आजसम्म एक हजार ८४४ नयाँ मतदाता थपिएको जानकारी दिए । यहीँ असोज १० गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।
“दैनिक एक सयदेखि १२० जनासम्मले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराइरहेका छन्, नाम समावेश गराउनेमध्ये झण्डै ६५ प्रतिशत किशोर एवं युवा छन्‚” उनले भने ।
यस अवधिमा ३३० मतदाताले ठाउँ सारीका लागि निवेदन दिएको कार्यालयले जनाएको छ । तिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पछिल्लो निर्वाचनमा क्षेत्र नं १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका र क्षेत्र नं ४ र ५ बाट नेपाली कांग्रेसका प्रत्यासी विजयी भएका थिए ।
उक्त निर्वाचनमा जिल्लाभरि पाँच लाख ३४ हजार ८६४ मतदाता थिए । सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधन गरेपछि मतदाता नामावली सङ्कलन सुरु गरिएको हो । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन अवधि तोकिएको छ ।






