काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको सम्मान पाउनका लागि कांग्रेसले महाधिवेशन गर्नुपर्ने बताएका छन् । आगामी चुनावमा भाग लिन जाँदा घर–घर पुगेर भोट नमाग्दा पनि भोट पाउने पार्टी बनाउन महाधिवेशन अनिवार्य रहेको बताएका छन् ।
थापाले महाधिवेशन र पार्टीभित्रको आन्तरिक विवादलाई जोडेर बुधबार (कात्तिक १९) सार्वजनिक गरेको भिडियो सन्देशमा कांग्रेस यसमा आबद्ध पदाधिकारी, केन्द्रीय सदस्यको मात्रै नभएर कार्यकर्तासँगै आम नागरिकको पनि भएको दाबी गरे ।
जेनजी आन्दोलनपछि उठेको सुधारको आवाजलाई सम्बोधन गर्न पनि कांग्रेसभित्रबाट सुधार थाल्नुपर्ने उनको भनाइ छ । "जेनजी आन्दोलनको मुख्य माग सुधार पारदर्शिता र सुशासन हो, संस्थागत सुधार र सुशासनको एउटा अंश राजनीतिक दल पनि हो । राजनीतिक दल यसका पदाधिकारी केन्द्रीय सदस्य र सदस्यहरूको मात्र नभएर आम नागरिकको पनि हो," महामन्त्री थापाले भनेका छन्, "त्यसकारण नागरिक आवाजको सम्मान गर्नुपर्छ । नागरिकको सम्मान गर्यो भने हरेक नागरिकले दललाई सम्मान गर्छन् । नागरिकले सम्मान गर्ने र सुधार नागरिकको आवाज सुन्ने दल बनाउन कांग्रेसले महाधिवेशनमार्फत सुधार थाल्नुपर्छ ।"
उनले यही कारण महाधिवेशन र पार्टीभित्रको विवादको विषय राष्ट्रिय विषय भएको बताए । उनले निर्वाचन र महाधिवेशनको प्रक्रिया एकसाथ अघि नबढ्ने नेताहरूको तर्कलाई पनि खण्डन गरे । "तपाईंले बुथको चुनावमा पार्टी प्रतिनिधिको छनोटसँगै कसलाई उमेदवार बनाउन चाहनुहुन्छ भनेर पनि सिफारिस गर्नुपर्ने हुन्छ," थापाले भने, "महाधिवेशनको प्रक्रियासँगै आम क्रियाशीलको सहभागितामा उमेदवार छनोट पनि एकसाथ हुन्छ ।"






