Odapalika - The Fourth Estate - चौथो अंग
उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट 

काठमाडौं - काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा चक्रीय अर्थव्यवस्था र सहरी आचरणका विषयमा आपसी अभ्यासका विषयमा कुराकानी भएको थियो । 

चक्रीय अर्थव्यवस्थाको उदाहरणका रुपमा फोहर व्यवस्थापनको विषय उठाउँदै उपप्रमुख डंगोलले, फोहरबाट मोहर बनाउने अभियानमा लामो समयदेखि काम हुँदै आएको बताए ।

फोहरलाई कम्पोष्ट गरेर मल बनाउने, यसरी बनाइएको मलको प्रयोग गरेर कौसी तरकारी खेती गरेर फल, फूल तथा तरकारी उब्जाउने कार्यक्रम महानगरपालिकाले नियमित सञ्चालन गरिरहेको बताए । 

फोहरका रुपमा फालिएका कागज, प्लाष्टिक जस्ता बस्तु संकलन गरेर दैनिक उपभोग्य बस्तु, सजावटका सामान बनाउने यसलाई उद्यमका रुपमा विकास गर्ने कामलाई समुदाय स्तरमा सञ्चालन गरिएकोले यसबाट स्थानीय आयमा टेवा पुगेको उपप्रमुख डंगोलले बताए ।  

त्यस क्रममा राजदूत पुहाक्काले, आफूहरुले मधेश र कर्णाली प्रदेशमा स्वच्छता तथा सरसफाइका लागि काम गरिरहेको बताउँदै महानगरपालिकासँग पनि सहकार्य गर्न इच्छुक रहेको बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update