काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।
आठ कट्ठा जग्गामा १२ करोड १३ लाख १० हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
नयाँ भवनको नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार उद्घाटन गरेपछि नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ । पचास प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख बस्नेतले जानकारी दिए ।
नगरपालिकाको वडा नं. १० बाँसबारीमा अत्याधुनिक भवन निर्माण भएको हो ।नयाँ भवनको उद्घाटन गरेसँगै नगरका सबै कामकाज त्यहीँबाट सुरु भएको छ ।
विद्युतीय भर्याडसहितको अपाङ्गमैत्री तथा बालमैत्री भवन निर्माण कार्य अढाईवर्षअघि सुरु भएको थियो । स्थानीयतह पुनर्संरचनापछि ०७४ असारमा सम्पन्न पहिलो स्थानीयतह चुनावबाट निर्वाचित मेयर बलदेव चौधरीले ०७८ चैत १३ गते सिल्यान्यास गरेको भवन ०७९ वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीयतह चुनावबाट निर्वाचित मेयर बस्नेतले पूर्णता दिएका हुन् ।
नगरपालिकाको आफ्नै स्वामित्वको डेढविगाह जमिनमा निर्मित ८४ कोठे ४ तले भवनमा भूमिगत पार्किङ तथा भवन बाहिर प्रवेशद्वार र चौकीदार भवनलगायत व्यवसायिक सटर (कोठा) हरुसमेत बनेका छन् ।
प्रत्येक तलामा २१ कोठा रहेको भवन बनाउन १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट बनेको थियो ।
उद्घाटन कार्यक्रममा मेयर बस्नेतले नयाँ भवन बनेपछि साँघुरो भवनकोजस्तो सास्तीले काम गर्नुपर्ने बाध्यता हटेको बताए । नगरबासीलाई चुस्त, छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले आवश्यक भवन निर्माण गरेको भन्दै मेयर बस्नेतले त्रियुगा जिल्लाकै जेठो र ठूलो भौगोलिक क्षेत्रफलको नगरपालिका भन्दै विकास निर्माण र सेवा प्रवाहको हिसावले पनि ठूलो भएर देखाउन चाहेको बताए ।







