उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न आग्रह गरेको छ ।
यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको मेयर बसन्त बस्नेतले जानकारी दिए ।
त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताए ।
‘बजार क्षेत्रका सडकपेटीहरुमा लामो समयदेखि फुटपाथ व्यापारीहरुले पेटी कब्जा गर्ने र अवरोध गरी व्यापार–व्यवसाय गर्दै आएकाले पटक पटक यसो नगर्न भन्दा पनि अटेरी गरेपछि बल प्रयोग गर्नभन्दा पहिला राम्ररी सम्झाई–बुझाई गर्न र उनीहरुलाई सचेतना जगाउन प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेका हौँ,’ उनले भने ।
फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रुपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरु उपलब्ध गराउने र केही व्यापारीहरुका लागि उपलब्ध गराउँदै आएको मेयर बस्नेतको भनाइ छ ।
बजारको मुख्य सडकपटीमा कपडा, खुद्रा व्यापारदेखि मकै पोलेर बिक्री गर्ने माछा, फलफूलहरु बिक्री गर्ने, जुत्ताचप्पल सहितका व्यापारहरु सडकपेटी कब्जा गरेर पसल सञ्चालन गर्ने गरेको कारण सडकपेटीमा हिँड्नेहरुले सास्ती भोग्नु परेको नगरपालिकाले जनाएको छ ।






