Odapalika - The Fourth Estate - चौथो अंग
महानगरपालिकाको २ करोड बढी लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण 

काठमाडौं- काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’को उद्घाटन गरेकी छन्।

महानगरपालिकाको आर्थिक सहयोगबाट निर्माण भएको भवन नारायण गोपालको ३५ औँ स्मृति दिवसको अवसरमा भवन उनले उद्घाटन गरेकी हुन् । त्यस अवसरमा नारायण गोपाल संगीत कोषले साङ्गीतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।

‘हरेक व्यक्तिको मनमा आउने भावना छुने गीत गाएका कारण नारायण गोपालका गीत जीवन्त छन् । यो जीवन्तताका कारण उहाँका गीत सम्पदा बनेका छन् । यस्ता अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले लगानी गरेको हो‚’ उनले भनिन्‚‘महानगरपालिकाले लगानी गरेको भवनमा  सबैको पहुँच होस् । हरेक कला साधकका लागि उपयुक्त होस् भनेर समय समयमा अनुगमन पनि गरेका थियौँ । यसरी निर्माण भएको भवनबाट कला साधकहरूको मन्दिर बन्नेछ ।’

कार्यक्रममा महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, कोषका अध्यक्ष दीपक के. सी. सहितका वक्ताहरूले नारायण गोपालको साङ्गीतिक जीवन र नेपाली गीत सङ्गीतको उचाइमा योगदानको चर्चा गरेका थिए ।

भवन निर्माणका लागि तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले २०७६ मंसिर १९ गते शिलान्यास गरेका थिए । भवन करिब २ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । ४ तले भवनको भूमिगत र बाहिर गरी १० वटा चार पाङ्ग्रे र ५ वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ स्थल छ ।

भवनको बाहिरी स्वरूप परम्परागत नेपाली शैलीको छ । प्लिन्थ क्षेत्रफल १ हजार ५४६ वर्ग फिट रहेको भवनको क्षेत्रफल ६ हजार ५५६ वर्ग फुट छ । भूमिगत र जमिन तला बाहिर गरेर १० वटा चार पाङ्ग्रे सवारी साधन र २० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।

त्यस क्षेत्रमा करिब १ रोपनी जग्गा छ । महानगरले निर्माण गरिरहेको भवनसँगै नारायण गोपालले बनाउनु भएको सेतो रङ्गको भवन छ । यसलाई सङ्ग्रहालय बनाउने योजना छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update