Odapalika - The Fourth Estate - चौथो अंग
कोदारी राजमार्ग बनाउने बजेट नरोकिने अर्थको बाचा, भोलिदेखि चल्नेछ तातोपानी नाका

काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तोपानीबाट आयात निर्यात व्यापार सुचारु हुने भएको छ । मंसिर २० गतेदेखि बन्द रहेको कोदारी राजमार्गको लिपिङ क्षेत्र मंसिर २५ गतेदेखि सुचारु हुने भएको हो ।

कोदारी राजमार्ग अन्तरगतको इको पहिरो नियन्त्रणका लागि यसअघि विनियोजन गरिएको बजेट अर्थमन्त्रालयले काटेपछि स्थानीयले विरोधमा राजमार्ग बन्द गराएका थिए । करिब ५ दिन राजमार्ग बन्द भएपछि अर्थमन्त्रालयले आश्यक बजेटको स्रोत सुनिश्चितता गरेपछि पहिरो नियन्त्रणको काम हुने भएको हो ।

‘बजेट काटिएको छैन भनेर हामीले स्रोत सुनिश्चितको पत्र भौतिक पूर्वाधार मन्त्रालयलाई दिइसकेका छौं,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले वडापालिकासँग भने ।

यसअघि अर्थ मन्त्रालयले सो पहिरो नियन्त्रणको लागि विनियोजन गरिएको बजेट रोक्का गरेको जानकारी पाएपछि स्थानीयले राजमार्ग बन्द गराएका थिए । स्थानीयको आन्दोलनका कारण ५ दिनदेखि नेपाल र चीनबीचको व्यापार ठप्प भएको थियो भने राजमार्ग अवरुद्ध भएको थियो ।

बजेट कटौति नभएको र पहिरो नियन्त्रणको कार्य सुरु हुने जानकारी पाएपछि राजमार्गको अवरोध हटेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । 

‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको भनेर भौतिक मन्त्रालयलाई पत्र पठाएको रहेछ । अब ठेक्का प्रक्रिया नै सुरु हुन्छ । निर्माण कार्य सुरु हुने भएकोले अब स्थानीयको अवरोध हुदैन । भोलि (मंसिर २५ गते) देखि राजमार्ग संचालनमा आउँछ,’ अध्यक्ष शेर्पाले वडापालिकासँग भने । कोदारी राजमार्गको लिपिङ क्षेत्र भोटेकाशी गाउँपालिकामा पर्छ ।

सो राजमार्ग पुननिर्माणका लागि करिब ४६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update