Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री बन्ने तयारीमा बालेनः रवि, कुलमान, अमरेशलगायतसँग फाइनल कुरा हुदै

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने गरी राजनीतिक सम्वादलाई तिब्रता दिएका छन् ।

मेयर बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उर्जा मन्त्री कुलमान घिसिङ, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, स्वतन्त्र सांसद अमरेश कुमार सिंह लगायतसँग राजनीतिक सम्वादलाई निरन्तरता दिएका हुन् ।

मेयर बालेनले गत सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग काठमाडौँको कमलपोखरीमा पूर्वसांसद असिम शाहको अफिसमा भेटवार्ता भएको थियो । मध्यरातसम्म चलेको सो भेटवार्तामा मेयर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी अघि बढ्ने विषयमा छलफल भएपनि निष्कर्ष ननिक्किएको नेताहरुले बताएका थिए ।

बालेनको समर्थनमा खुलेको पार्टी देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीको चुनाव चिन्ह लौरो हो । गत स्थानीय तह निर्वाचनमा बालेन लौरो चुनाव चिन्ह लिएर उठेका थिए । सो पार्टीको अध्यक्ष भने सन्ध्या खनाल छिन् । देश विकास पार्टीलाई बालेनको पार्टी भन्ने गरिन्छ ।

प्रतिनिधिसभाको आगामी निर्वाचनमा बालेनको देश विकास पार्टी तथा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङको श्रम संस्कृति पार्टी सकेसम्म एउटै दल बनाएर, त्यो नभए पनि चुनावी मोर्चा बनाएर एउटै निर्वाचन चिन्हमा चुनावमा जाने गरी बालेनले गृहकार्य गरेका छन् । यद्यपि, हर्क साम्पाङ भने पछिल्लो समय बालेन र कुलमान घिसिङको सार्वजनिक आलोचना गरिरहेका छन् । मेयर बालेनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पनि छलफल गरेका छन् । 

मेयर बालेनले राजनीतिक दलहरुमा मात्रै होइन, स्वतन्त्र रुपमा रहेका प्रभावशाली व्यक्तिहरु, अन्य पेशा व्यवसायमा रहेका सामाजिक प्रतिष्ठा कमाएका व्यक्तित्वहरु र अन्य विभिन्न राजनीतिक दलमा रहेका तर नेतृत्वको आलोचना गर्ने गरेका लोकप्रिय नेताहरुसँग पनि छलफल गरिरहेका छन् । 

मेयर बालेनले पूर्वविवेकशील साझाका नेता मिलन पाण्डेसँग पछिल्लो समय बाक्लो भेटघाट गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही, स्वतन्त्र पूर्वसांसद डा. अमरेशकुमार सिंह, नेपाली कांग्रेसका नेताहरु डा. चन्द्र भण्डारी र सुनिल शर्मा, कलाकार निश्चल बस्नेत, डा. भगवान कोइराला लगायतसँग पनि गम्भीर छलफल गरेका छन् ।

यस्तै, मेयर बालेनले भदौ २३ गते आन्दोलन सुरु गर्ने जेनजी समुहसँग पनि छलफल गरिरहेका छन् । भदौ २४ गतेपछि देशमा सरकार विहिन अवस्था सिर्जना भएपछि जेनजी समुहले बालेनलाई प्रधानमन्त्री बनाउन चाहदा उनी त्यसको लागि तयार भएका थिएनन् । यद्यपि, बालेनले नै प्रतिनिधिसभा विघटन हुनुपर्ने र जेनजीसँग सेनाले वार्ता गर्नुपर्ने रोडम्याम सार्वजनिक गरेका थिए । मेयर बालेनकै रोडम्याप अनुसार सेनाले वार्ता गरेको थियो भने उनकै प्रश्तावमा पूर्वप्रधानन्यायाधीश शुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् ।

मेयर बालेनले युवा अभियन्ता सागर ढकाल तथा केपी खनालसँग पनि छलफल गरेका छन् । यस्तै, जेनजी समुहमा सक्रिय रहेकी रक्षा बमसँग पनि छलफल गरेका छन् । उनले रक्षा बमलाई सबै जेनजी समुहलाई एक बनाएर आफूलाई सहयोग गर्ने वातावरण मिलाउन मेयर बालेनले आग्रह गरेका छन् । मेयर बालेनले आजको भेटघाट आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलको घरमा भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update