काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्ने बताएकी छिन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटपछि उनले सामाजिक सञ्जालमार्फत निर्वाचनका लागि कुनै पनि संशय नरहने गरी काम गरिरहेको बताएकी हुन् ।
निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्ने उनले बताएकी छिन् । 'दिगो लोकतन्त्र र स्थिरताका लागि फागुन २१ को निर्वाचन सफल पार्नु सबैको साझा दायित्व हो भन्ने हृदयङ्गम गरी दलहरूबाट प्राप्त प्रतिबद्धता स्वागतयोग्य छ। निष्पक्ष र भयरहित वातावरणको ग्यारेन्टी सरकारले गर्छ । कुनै पनि संशय नरहने गरी हामी काम गर्दै छौं,' उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छिन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरू निर्वाचनमा जान तयार रहेको त्यसका लागि वातावरण नबनेको भन्दै सरकारले वातावरण बनाउनुपर्ने बताएका थिए । यस्तै, एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् ।







