काठमाडौँ । फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभासभा निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र कार्यकता मात्रै होइन, आम मतदाता पनि चुनावी हिसाव किताबमा लागेका छन् । कुन क्षेत्रमा कसको पल्लाभारी हुने भन्ने चर्चाले चुनावी माहोल अझ रोचक बनाएको छ ।
यसपालिको चुनावको सबैभन्दा रोचक पक्ष नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ । किनभने चुनावमा कसले जित्ला भनेर हिसाव किताब गर्नको लागि विगतका चुनावहरुको अंकलाई लिएर पनि विश्लेषण गर्ने गरिन्छ । तर, यसपालि फरक अवस्था छ । विगतको एउटा मात्रै चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ चुनाव नजितेको ठाउँमा निकै कम मत पाएको थियो भने समानुपातिकतर्फ पनि सहरी क्षेत्रबाट मात्रै मत पाएको थियो । गत स्थानीय तह र प्रदेश निर्वाचनमा रास्वपा सहभागी नै भएको थिएन ।
यसपालि फरक अवस्था छ । देशभरका कुनाकाप्चासम्म रास्वपाको चर्चा चलेको छ । रास्वपाका उम्मेदवारको अवस्था के कस्तो हुन्छ भनेर आकलन गर्ने एक मात्रै आधार चुनावी माहोल भएको छ ।
यही पृष्ठभूमिमा पनि वडापालिकाले २०७९ सालको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन परिणामको आधारमा चुनावी अवस्थाको विश्लेषण तयार पारेको छ । आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
सो क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका थिए । लेखकले ३० हजार ५७५ मत ल्याएका थिए भने उनका निकटमत प्रतिस्पर्धी नेकपा एमालेका निरुदेवी पालले १८ हजार ४८५ मत पाएकी थिइन् । सो क्षेत्रमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एसले नेपाली कांग्रेसका उम्मेदवार लेखकलाई समर्थन गरेका थिए भने एमाले उम्मेदवार पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो । कञ्चनपुर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि राम्रो मत रहेको तथ्यांकले देखाउँछ ।
कांग्रेस नेता लेखक भदौ २३ गतेको जेनजी प्रदर्शनको समयमा गृहमन्त्री थिए । यसपालि कांग्रेसले लेखकलाई टिकट दिएन ।
यसपालि नेपाल कांग्रेसले सो क्षेत्रबाट हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेसको कञ्चनपुर जिल्ला समितिको पूर्वसभापति पनि हुन् । यस्तै, एमालेले डा. दिपकप्रसाद भटट्लाई उम्मेदवार बनाएको छ । डा. भट्ट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७९ सालमा नेपाली कांग्रेसका उम्मेदवार लेखकसँग पराजित भएका थिए ।
सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ । तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एससहितका दलहरु मिलेर नेकपा बनेको हो ।
अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कञ्चनपुर–३ बाट ज्ञानेन्द्र सिंह महतालाई उम्मेदबार बनाएको छ । विगतको निर्वाचनमा कुन दलको कति मत थियो भन्ने विवरण यहाँ प्रस्तुत गरिएको छः
२०७९ को प्रतिनिधिसभा निर्वाचनको मत (प्रत्यक्षतर्फ)
- रमेश लेखक, नेपाली कांग्रेस– ३०,५७५ विजयी
- निरुदेवी पाल, नेकपा एमाले– १८,४८५ (२)
- कृष्ण लुहार, रास्वपा– २,०३१ (३)
२०७९ को प्रतिनिधिसभा निर्वाचनको मत (समानुपातिकतर्फ)
- नेपाली कांग्रेस २०,५७१
- नेकपा एमाले– ११,८१६
- नेकपा (माओवादी र नेकपा एस जोडेर)– ८,३९५
- राप्रपा– ६,०२६
- रास्वपा– ४,९००
कञ्चनपुर–३ मा कञ्चनरपुर जिल्लाको भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा नं. ८ पर्छ । भीमदत्त नगरपालिकाको मेयर नेपाली कांग्रेसले फराकिलो मतान्तरले जितेको थियो भने बहुमत वडाहरु पनि कांग्रेसले नै जितेको छ । यस्तै, दोधारा चाँदनी नगरपालिकाको मेयर करिब एक हजार मतान्तरले नेकपा एमालेले जितेको छ । दोधारा चाँदनी नगरपालिकाको मेयरमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस थियो ।
यस्तै, बेदकोट नगरपालिकाको मेयर नेकाका भोजराज बोहोरा ८ हजार ७८ मत ल्याएर विजयी भएका थिए भने दोस्रोमा एमालेका शुशीला सिंहले ४ हजार ७४ मत ल्याइन् । यद्यपि, कन्चनपुर ३ मा बेदकोट नगरपालिकाको वडा नं. ८ मात्रै पर्छ । सो वडामा नेपाली कांग्रेस ६६९ मत ल्याएर विजयी भएको थियो भने निकटमत प्रतिस्पर्धी एमालेले ५३० मत पाएको थियो ।
भीमदत्त नगरपालिका
मेयर
- पदम वोगटी, नेपाली काँग्रेस १५८८२ विजयी ।
- महेश प्रसाद पन्त, नेकपा एमाले ८१७९ ९२०
- गजेन्द्र बहादुर चन्द, राप्रपा ७१०५ ९३०
- राजेन्द्र पाण्डेय, नेकपा एस ३४५२ ९४०
वडाअध्यक्षहरू
- जम्मा वडा– १९
- नेपाली कांग्रेसले जितेको वडाहरु– १३ वटा
- एमालेले जितेको वडाहरु– ३
- माओवादी–२
- स्वतन्त्र–एउटा (वडा नं. १३)
वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत
- नेपाली कांग्रेस– १५,०९८
- नेकपा एमाले– ९,८३७
- नेकपा (नेकपा एस र माओवादीको जोडेको) – ६,७५४
दोधारा चाँदनी नगरपालिका
मेयर
- किशोर कुमार लिम्वु, नेकपा एमाले ७१०४ विजयी
- गोपाल दत्त भट्ट, नेपाली काँग्रेस ६१७२ ९२०
- भिम बहादुर कुमाल, स्वतन्त्र १८५३ ९३०
- भगिरथ भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी ८८३ ९४०
- निरु देवी कामी, नेकपा माओवादी केन्द्र ७७६ ९५०
जम्मा वडाहरू– १०
- नेपाली कांग्रेसले जितेको– एउटा
- एमालेले जितेको– ६ वटा
- राप्रपाले जितेको– २ वटा
- माओवादीले जितेको– एउटा
वडाध्यक्षका उम्मेदवारले पाएको मत
- नेपाली कांग्रेस– ६,३५०
- नेकपा एमाले– ५,८९५
- नेकपा (नेकपा एस र माओवादीको जोडेको)– १,७०५
- राप्रपा– १,८७६







