काठमाडौँ । ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर सम्बन्धी सेवा सुरु गरेको छ । आन्तरिक राजस्व कार्यालय ललितपुर–२ सँग सम्झौता गरी गाउँपालिकाले कर सम्बन्धी सेवा सुरु गरेको हो ।
महांकाल गाउँपालिकाले दिएको जानकारी अनुसार फागुन १० गतेदेखि कर सम्बन्धी सेवा गाउँपालिकाबाटै सुरु हुनेछ । यसअघि यस्तो सेवाको लागि आन्तरिक राजस्व कार्यालय ललितपुर–२ मा पुग्नुपर्ने वाध्यता थियो ।
सम्झौता अनुसार करदाता दर्तासँग सम्बन्धित व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (प्यान) लिन, आयकर दर्ता गर्न, अन्तःशुल्क दर्ता तथा इजाजतपत्र नवीकरण गर्न, व्यक्तिगत प्यान नम्बरबाट व्यवसायिक प्यान नम्बरमा रुपान्तरण गर्न, प्यान दर्तासँग सम्बनिधत संशोधन गर्न र व्यवसायिक प्यानबाट व्यक्तिगत प्यान बनाउन, करदाता प्रोफाइल तयार पार्न अब गाउँपालिकाबाटै मिल्ने भएको छ ।
यस्तै, मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता गर्न, आयकरबाट भ्याटमा दर्ता गर्न, व्यवसाय दर्ता खारेजी, करचुक्ता प्रमाणपत्र लिन, करदाताको कार्यालय स्थानान्तरण तथा शाखा थप गर्ने सम्बन्धी कार्य गर्न र करदाता शिक्षा सम्बन्धी कार्यक्रम, बक्यौता लगत कट्टा पनि गाउँपालिकाबाटै हुने भएको छ ।
वर्तमान अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तरगतका कर कार्यालयहरुबाट मात्रै प्रवाह हुने कर सम्बन्धी कार्यहरु स्थानीय तहले पनि प्रवाह गर्ने नीतिगत व्यवस्था गरेका थिए । मन्त्री खनालको सोही ऐतिहासिक निर्णयमा टेकेर आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालयहरुबाट प्रवाह हुने सेवा स्थानीय तहमा हस्तान्तरण गरेको हो । संघ सरकार मातहत हुने करदाता सेवा कार्यालय हटाएर मन्त्री खनालले सो सेवा स्थानीय तह मार्फत प्रवाह हुने नीतिगत व्यवस्था मिलाएका छन् ।







