Odapalika - The Fourth Estate - चौथो अंग
भिमाद नगरपालिकाको वानटाङ खोलामा पक्की पुल निर्माण सुरु, के भन्छन् मेयर सुवेदी ?

तनहुँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत १३० मिटर लम्बाइको पुल निर्माण कार्य सुरु गरिएको हो । 

पुलको डिजाइन स्वीकृत भएसँगै निर्माण व्यवसायीबाट नदीको बायाँ किनारतर्फ पुलको जग खन्ने काम सुरु गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनाको जलाशयका कारण डुबानमा पर्ने भिमाद ऋषिङ खण्डअन्तर्गत पर्ने वानटाङ खोलामा स्थायी पुल डिजाइन तथा निर्माण ढाँचा बनाउन विसं २०८१ फागुन २८ गते सपना निर्माण प्रालिसँग सम्झौता गरिएको थियो । 

ठेक्का सम्झौता भएको ३० महिनाभित्र पुलको निर्माण सम्पन्न गर्ने कार्यतालिका छ ।  निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एण्ड बिल्ड) गरी २३ करोड सात लाख रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) मा ठेक्का सम्झौता भएको थियो । 

भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने उक्त खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका हजारौँ नागरिकले सास्ती भोग्नुपरेको बताए ।

वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सिमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँध निर्माण गर्दैछ । समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुनेभएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको आयोजनाले जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update