काठमाडौँ । तनहुँ जिल्लाको भिमाद नगरपालिकाले दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न लागेको हो।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ बमोजिम मापदण्ड पूरा गरेका दूध संकलन, प्रशोधन तथा वितरणमा संलग्न कृषक समूह वा सहकारी संस्थाहरूलाई कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले जानकारी दिए । नगरपालिकाले यसको लागि सार्वजनिक सुचना नै प्रकाशन गरेको उनको भनाइ छ ।
नगरपालिकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न सम्बन्धित कृषक समूह तथा सहकारी संस्थालाई आग्रह गरेको छ। प्रस्ताव भिमाद नगरपालिका पशु सेवा शाखामा पेश गर्नुपर्नेछ। नगरपालिकाले भदौ ५ गते सुचना प्रकाशन गरेको उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन इच्छुक संस्थाले निवेदन, प्रस्ताव, कृषक समूह वा सहकारी दर्ता तथा प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, वार्षिक साधारणसभाको निर्णयको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस पत्र पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार आवश्यक अनुसूची तथा फारामहरू भिमाद नगरपालिका पशु सेवा शाखाबाट प्राप्त गर्न सकिनेछ। दूध उत्पादनमा संलग्न कृषक तथा सहकारी संस्थालाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ।
भिमाद नगरपालिकाले दूध उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै कृषकको उत्पादन तथा आम्दानी वृद्धि गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरेको छ।



