काठमाडौँ । तनहुँजिल्लाको भिमाद नगरपालिकाले लगातार वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ।
नगरपालिकाले बिहीबार जारी गरेको सूचनाअनुसार २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म तनहुँसहित देशका विभिन्न स्थानमा वर्षाको उच्च सम्भावना रहेको मौसमसम्बन्धी पूर्वानुमान तथा बुलेटिनमा उल्लेख भएकाले असोज ९ गते विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले २०८३ असोज ७ गते जारी गरेको परिपत्रसमेतलाई ध्यानमा राख्दै असोज ९ गते स्थानीय बिदाबाट समायोजन हुने गरी विद्यालय बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ।
भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम पण्डेलद्वारा जारी सूचनामा वर्षाका कारण आउन सक्ने सम्भावित जोखिमबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई सुरक्षित राख्न आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
नगरपालिकाले विशेषगरी सम्भावित बाढी, पहिरो तथा अन्य वर्षाजन्य जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी तथा अभिभावकलाई सावधानी अपनाउन आग्रह गरेको हो।




