काठमाडौँ । तनहुको भिमाद नगरपालिकाले पशुपालन गर्न चाहने कृषकलाई आवश्यक सामग्री खरिद गर्न ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाभित्र पशुपालन व्यवसायलाई प्रबद्र्धन गर्न यस्तो कार्यक्रम संचालन गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले दिएको जानकारी अनुसार किसानलाई चाहिने वस्तु खरिद गर्न वा गोठ स्तरोन्नति गर्नको लागि अनुदान रकम उपलब्ध गराइन्छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा यो कार्यक्रम समावेश गरेको छ । खासगरी कृषि सहकारी र किसान समुहलाई मागका आधारमा अनुदान दिन लागिएको नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक सबिन भट्टराईले जानकारी दिए ।
‘यो कार्यक्रम विशेष गरेर कृषक समुह र कृषि सहकारीको लागि हो । उहाँहरुलाई कुनै पशुपक्षी खरिद गर्न आवश्यक छ वा भइरहेको गोठ स्तरोन्नति वा गोठ तथा खोर निर्माण गर्न आवश्यक छ वा कुनै सामान उपकरण चाहिने छ भने पनि यो रकम प्रयोग गर्न सकिन्छ,’ भट्टराईले वडापालिकासँग भने ।
उनले किसानलाई सहयोग पुर्याउनको लागि मागमा आधारित कार्यक्रम संचालन गरिएको बताए ।
‘किसानलाई जे कामको लागि रकम चाहिएको हुन्छ, त्यही काममा प्रयोग गर्न मिलोस भनेर मागमा आधारित कार्यक्रम राखिएको हो,’ उनले भने ।
नगरपालिकाले यसका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल लागतको ५० प्रतिशत मात्रै अनुदान दिन लागिएको हो । नगरपालिकाले दिएको ४ लाख रुपैयाँ अनुदानबाट ८ लाख रुपैयाँको काम हुनेछ ।
भिमाद नगरपालिकामा ९ वटा वडा छन् । यो कार्यक्रम सबै वडामा संचालन गर्ने तयारी भएको छ । नगरपालिकाभित्र १०० को हाराहारीमा कृषक समुह छन् भने कृषि सहकारीको संख्या १० भन्दा कम रहेको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाले बैशाख ४ गते सार्वजनिक सुचना प्रकाशित गरी यो कार्यक्रममा सहभागी हुनको लागि निवेदन दिन पनि भनेको छ । नगरपालिकाले १५ दिनभित्रमा निवेदन दिन भनेको छ ।
के के चाहिन्छ कागजात ?
नगरपालिकाका अनुसार अनुदान लिनको लागि तोकिएको समयभित्र निवेदन, कार्यक्रमको प्रस्तावना, संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र प्रतिलिपि, संस्थागत बैठकको निर्णयको प्रतिलिपि, र सम्बन्धित वडाको सिफारिस आवश्यक पर्छ ।






