Odapalika - The Fourth Estate - चौथो अंग
महनागरले भूप्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरका १० वटा वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई प्रक्रिया र प्रणालीसम्बन्धी तालिम दिइसकेको छ ।

पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट भूसेवामा काम गर्ने कर्मचारीलाई सहभागी गराइएको उनको भनाइ छ।

‘नेपालको संविधानले स्थानीय तहलाई दिएका एकल अधिकारलाई पूर्ण कार्यान्वयन गर्न हामी निरन्तर काम गरिरहेका छौँ । साझा अधिकारको प्रयोगका लागि अन्तरसरकार समन्वय र सहकार्यमा प्रतिबद्ध भएर लागेका छौँ,’ उनले भनिन्‚ ‘नागरिकलाई सङ्घीयता लाभ महसुस गराउँदै भूप्रशासनमा झन्झटरहित र वास्तविकतामा आधारित प्रणाली सञ्चालन गर्नेछौँ ।’

नागरिकलाई महसुसयोग्य सेवा प्रवाहमा आफूले कर्मचारीबाट आशा एवं भरोसा लिएको बताउँदै डङ्गोलले नमूना कार्यक्रमको सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण थप गरेर अन्य वडामा सेवा विस्तार गर्दै लैजाने, कर्मचारीको क्षमता विकास तथा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

नेपालको संविधानले भूप्रशासनको काम स्थानीय तहलाई दिएको छ । यसअघि पूर्वाधार र जनशक्ति तयार नभएकाले यो काम सङ्घ सरकारबाटै हुँदै आएको थियो । चार किल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा यसअघि पनि कार्यान्वयनमा आएका थिए ।

अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, श्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएको वडाबाटै प्राप्त हुनेछन् ।

नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछन् ।

अभिलेख प्रणाली, लिखत पारित, नामसारी प्रक्रियामा स्थानीय तहबाट हुने सही र सनाखत, न्यूनतम मूल्याङ्कन, रजिष्ट्रेसन शुल्क, रोक्का गर्नेलगायत सेवा समावेश छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update