काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएको छ ।
निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति गगन कुमार थापाले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
‘निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु । यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ,’ सभापति थापाले भनेका छन् ।
केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा कांग्रेसले सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएको छ । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति कांग्रेसले हार्दिक आभार र बधाई प्रकट गरेको छ ।
सभापति थापाले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मीहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।







