काठमाडौं - दुई दिनअघि भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।
त्यतिमा समिति नभएर ओलीले एमालेले भरसक बहुमत ल्याउने र कथम्कदाचित नल्याए प्रमुख पार्टीका रूपमा आउने दाबी गरेका थिए ।
तर‚ मतदाताले भने ओलीको उक्त कुरालाई ब्यालेटमार्फत् नराम्ररी असफल बनाइदिएका छन् । आफू प्रधानमन्त्री बन्ने दाबी गरिरहेका ओली आफैं चुनाव नजित्ने अवस्थामा पुगेका छन् । झापा ५ बाट उम्मेदवार रहेका ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भारी मतान्तरले चुनाव हराउँदैछन् ।
यो सामाग्री तयार पार्दासम्म निर्वाचन आयोगको तथ्यांक अनुसार झापा ५ मा बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी बन्दा केपी ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् ।
चुनाव जित्ने र प्रधानमन्त्री बन्ने सपना बुनेका ओली मात्र होइन उनले टिकट दिएका पार्टीका कुनै पनि पदाधिकारीले जित्ने छाँट देखिँदैन । कतिपय नेताले चुनाव हारिसकेका छन् । विशेषगरी उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट र पृथ्वी सुब्बा गुरुङले चुनाव हारिसकेका छन् । ओलीका प्रिय पात्र महासचिव शंकर पोखरेल मात्र होइन सचिव महेश बस्नेत, भानुभक्त ढकाल, राजन भट्टराईले चुनाव हारिसकेका छन् ।
उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलसँग पराजित भए । खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेल भने १२ हजार ८ सय ६१ मतमै सीमित रहे ।
उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी-२ बाट ५६१ मतान्तरले पराजय भोगे । उनले १६ हजार ४०६ मत पाए । यहाँ रास्वपा उम्मेदवार गोविन्द पन्थीले १६ हजार ९६७ मत पाउँदै निर्वाचन जिते ।
यस्तै, उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले लमजुङबाट चुनाव हारे । रास्वपाका धर्मराज केसीले ३३ हजार ८९८ मत पाउँदा गुरुङले १६ हजार ८७६ मत पाए ।
यस्तै, महासचिव शंकर पोखरेलले पनि नमज्जाले चुनाव हारेका छन् । रास्वपा सहमहामन्त्री विपीन आचार्यले ४३ हजार ५५९ मत पाउँदा शंकर पोखरेलले १५ हजार २८७ मत पाएका छन् । यहाँ पोखरेलले २८ हजार २७२ मतान्तरले चुनाव हारे ।
उपमहासचिव रघुवीर महासेठले पनि ८ हजार मत समेत पाउन सकेका छैनन् । मतगणना जारी रहँदा रास्वपाका राजकिशोर महतोले ३२ हजार ५९३ मत ल्याएका छन् । यहाँ कांग्रेस उम्मेदवार महेन्द्र यादवले ११ हजार ८४४ मत ल्याउँदा महासेठले मात्र ७ हजार ३४८ मत पाएका छन् ।
यस्तै, अर्का उपमहासचिव लेखराज भट्ट पनि मतगणना जारी रहँदा तेस्रो स्थानमा छन् । उनले ५ हजार ९७२ मत प्राप्त गर्दा पहिलो स्थानमा रहेका रास्वपाका खेमराज कोइरालाले २० हजार ८४८ मत पाएका छन् ।
एमालेबाट भक्तपुर २ मा सचिव महेश बस्नेत पराजित भए । रास्वपाका राजीव खत्रीले ३४ हजार ७ सय २ र बस्नेतले ८ हजार तीन सय ५१ मत ल्याए ।
अर्का सचिव भानुभक्त ढकालले पनि तेह्रथुमबाट पराजय भोग्नुपर्यो । कांग्रेसका सन्तोष सुब्बासँग उनी पराजित हुँदा सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याए भने ढकालले १० हजार ६ सय ८२ मत पाएका थिए ।
सचिव राजन भट्टराईले काठमाडौं-४ मा हारको ह्याट्रिक लगाए । रास्वपाका पुकार बम २९ हजार १४२ मत ल्याएर विजयी भए भने कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत पाए ।
भट्टराईले ५ हजार ७ सय ३३ मत मात्रै प्राप्त गरे । यता‚ सचिव शेरधन राई पनि मतमा पछाडि नै छन् । भोजपुरमा उनी श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईभन्दा पछि छन् । माटो चिह्नमा राईले ८ हजार ७९८ प्राप्त गर्दा शेरधनले ७ हजार ३८३ मत पाएका छन् ।
२०७९ मा भएको निर्वाचनमा नेकपा एमाले संसद्को दोस्रो दल थियो । पाँच दलीय गठबन्धनविरुद्ध एक्लै लडेर ७८ सिट ल्याएको थियो । समानुपातिक मततर्फ भने एमाले पहिलो दल बनेको थियो ।







