काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगन थापाले पदबाट राजीनामा गरेको अपुष्ट खबर सार्वजनिक भएको छ ।
सार्वजनिक भएको खबर अनुसार थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकमा राखिनेछ र सोही समितिले आवश्यक निर्णय लिनेछ । भोलि (शुक्रबार) केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत घोषणा गरिएको थियो । तत्कालिन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापति मात्रै बनाएन, शर्मालाई १ नम्बरको उपसभापति पनि सर्वसम्मत रुपमै बनायो । विशेष महाधिवेशनमा थापा र शर्माले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु तय गरे । त्यसैकारण केन्द्रीय कार्यसमिति सर्वसम्मत घोषणा गरियो ।
केही दिनअघि सभापति थापाले राजीनामा दिने मुड बनाएको भनेर मिडिया ट्रायल गरिएको थियो । राजीनामा दिने मुड बनाएको भन्ने समाचार थापाको सचिवालयबाटै बाहिरिएको थियो । तर, अघिल्लो साता बनाएको मुड यो साताको पनि अन्तिममा आएर कार्यान्वयन गरियो भनिएको छ । र, गगन थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकमा राख्ने भनिएको छ ।
विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमिति एक प्रकारले गगन थापाको भारदारी सभा जस्तो हो । त्यो कार्यसमितिले गगनको मुडअनुसारको निर्णय गरिदिने सम्भावना अधिक छ ।
गगन थापाले फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामप्रति नैतिक जिम्मेवारी लिदै राजीनामा गरे भनिएको छ । तर, गगन थापाले सो निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिनु पर्दैन । किनभने जनताले कांग्रेसलाई भोट नहालेपछि, जनताले नपत्याएको विषय गगनको नैतिकताको विषय हुँदैन । विजयी उम्मेदवारसँग दोस्रो हुँदा पनि १२ देखि १५ हजारको फरक छ भने यो अन्तरघात पनि होइन । मतदाताले अर्काे पार्टी र उम्मेदवारलाई छानेको हो । यो पराजयमा गगनले आफ्नो नैतिकता खोज्नु भनेको जनताको विवेकलाई अस्वीकार गर्नु हो ।
गगन थापाले हारको होइन, दुव्र्यवहारको जिम्मा भने लिनुपर्छ । विशेष महाधिवेशनको समयमा कांग्रेस हुँ भन्नेहरुले, अझ विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाउनु पर्छ भन्नेहरुले पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्ण सिटौला, डा. प्रकाशशरण महतहरुको जसरी हुर्मत लिए, जुन प्रकारको दुर्वचन प्रयोग गरे, जुन प्रकारको दुव्र्यवहार भयो, त्यसको जिम्मा गगन थापाले लिनुपर्छ ।
पुस अन्तिम साता कांग्रेस विशेष महाधिवेशनको नौटंगी गरियो, जबकि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन थियो । त्यो निर्वाचनको तयारीमा जुट्नु पर्ने बेलामा पार्टीका सिनियर नेताहरुको मानमर्दनमा पार्टी संयन्त्र परिचालन गरियो ।
विशेष महाधिवेशनपछिको पार्टी नेतृत्वले निर्वाचनमा विभाजनकारी र प्रतिशोधपूर्ण नारा तय गर्यो । नारा थियो– बदल्यौं कांग्रेस, बदल्छौं देश । यो भनेको के हो ? विशेष महाधिवेशनलाई कांग्रेस बदल्ने कार्य भनेको होइन र ? अनि विशेष महाधिवेशनको विपक्षमा रहेका शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, डा. चन्द्र भण्डारी, रामहरि खतिवडा, डा. सुनिल शर्माहरुले बदल्यौं कांग्रेस भनेर भोट माग्न जाने ? विशेष महाधिवेशनप्रति फरक मत राख्नेहरुलाई स्पेस नै दिइएन ।
चुनाव सकिएको छ । हारजितको परिणाम सार्वजनिक भएको छ । गगन थापाले अब भन्नुपर्छ– नेपाली कांग्रेसका लागि, यो देशका लागि शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. प्रकाशशरण महत, प्रकाशमान सिंह, डा. शेखर कोइरालाहरुको कुनै योगदान र भूमिका छैन ? सात भाइ र कति भाइ भन्दै उनीहरुमाथि विशेष महाधिवेशनवाला कांग्रेसले किन दुव्र्यवहार गर्यो ?
फागुन २१ को निर्वाचनमा कांग्रेस एमाले जस्ता दलहरुको पक्षमा खराब नतिजा आउँछ भन्ने स्पष्ट थियो । यदि विशेष महाधिवेशनको नाटक मञ्चन गरिएको थिएन भने अहिले पनि पार्टी सभापति देउवा नै हुन्थे र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै हुन्थे । पार्टीको पक्षमा नतिजा अहिलेको भन्दा खराब हुन्थ्यो भने पनि बढीमा १० सिट घट्थ्यो होला । रास्वपाले झण्डै दुईतिहाई मत ल्याएको अवस्थामा कांग्रेसको १० सिट कम वा बढीले केही अर्थ राख्दैनथ्यो ।
अर्थ त केले राख्थ्यो भने नेपाली कांग्रेससँग उसको एसेट गगन थापा पनि बचेका हुन्थे । अब वैशाख अन्तिममा कांग्रेसको नियमित महाधिवेशन हुन्थ्यो र गगनलाई सभापति बनाएर ५ वर्षसम्म गगन नेतृत्वको कांग्रेसले अर्काे निर्वाचनको तयारी गर्न पाउथ्यो । झण्डै दुईतिहाई सरकारलाई खबरदारी गर्न पाइन्थ्यो । अग्रज नेताको सम्मान कायम रहन्थ्यो । कांग्रेसी संस्कारको हत्या हुदैनथ्यो । १५औं महाधिवेशनपछि गगनले नेतृत्व गर्छन् भन्ने धारणा बनाएर बसेका कांग्रेसीहरु स्वभाविक नेतृत्व परिर्वतनअनुसार परिचालित हुन्थे ।
तर, नहनु पर्ने भयो । गगन थापामा अतिमहत्वाकांक्षा जाग्यो । विशेष महाधिवेशनको नाममा पार्टीका अग्रजमाथि दुव्र्यवहार हुँदा उनी रमिते मात्रै बने । प्रतिशोधपूर्ण र विभाजनकारी नारा तय गरियो । अग्रजको योगदानलाई अस्वीकार गर्ने परिस्थिति निर्माण गरियो र स्वभाविक नेतृत्वमा आउन लागेका गगनलाई नैतिकताको भुङ्ग्रोमा जाकेर कांग्रेसको एसेट पनि सिध्याइयो । गगन थापा यस्ता अवाच्छित क्रियाकलापमा संलग्न भए । आफूले आफैलाई सिध्याए ।
यो कुरा प्रष्ट भइसकेको छ कि विशेष महाधिवेशन गर्नुपर्छ भनेर उचाल्ने सल्लाहकार वास्तवमा गगनका र नेपाली कांग्रेसका विरोधी रहेछन् । तिनै सल्लाहकार अहिले गगनलाई नैतिकताको भारी भिराउन दौडिरहेका देखिन्छ । गलत संगत र सल्लाहकारको टीमबाट गगन थापा बाहिर आउन सक्नुपर्छ । र, हारको होइन, अग्रजमाथि भएको दुव्र्यवहारको जिम्मा लिदै सार्वजनिक रुपमा माफी मागेर नेपाली कांग्रेसलाई एकतावद्ध गरी बलियो बनाउन सक्रिय हुनुपर्छ ।







