ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ?

 

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे ।

‘भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,’ उनले भने ।

आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको भनाइ छ ।

‘सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ,’ उनले भने ।

जेनजीको जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जनाउँदै उनले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको बताए ।

निर्देशन सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्न लगाएका थिए । 

त्यसअघि मन्त्रालयमा उनलाई गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं मन्त्रालयको उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । नवनियुक्त गृहमन्त्री गुरुङ जेनजी प्रदर्शनको समयका प्रधानमन्त्री र गृहमन्त्रीप्रति कठोर अभिव्यक्ति दिदै आएका छन् । सो समयमा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने रमेश लेखक गृहमन्त्री थिए । गुरुङले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने दबाब दिएको यसअघि सार्वजनिक भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update