नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरूको सेयर रोक्का

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना संस्थापक सेयरधनीको सेयर रोक्का गरिदिएको छ । बैंकले सेयरधनीको अनुमतिविनै सेयर रोक्का गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङको सहमतिमा सेयर रोक्का गरिएको दाबी बैंकको छ । बैंकका संस्थापक सेयरधनीले जथाभावी सेयर बेच्न लागेपछि ‘उनीहरुकै हितमा सेयर रोक्का गरिएको’ बैंकको भनाइ छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केही कित्ता संस्थापक सेयर पनि साधारण सेयर जस्तै गरी दोस्रो बजारमा कारोबार हुने प्रकारका छन् । बाँकी संस्थापक सेयर भने बैंक संचालक समितिले अनुमति दिएपछि मात्रै बेच्न पाइने प्रकारका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अहिले रोक्का राखेको सेयर बैंक संचालक समितिले अनुमति दिएपछि मात्रै बेच्न पाइने प्रकारका संस्थापकको हो ।

बैंकका सुचना अधिकारी राजेश शर्माले संस्थापक सेयरधनीकै हितका लागि सेयर रोक्का राखिएको बताए ।

‘हाम्रो बैंकको संस्थापक सेयर पनि दोस्रो बजारमा सहजै विक्रीयोग्य (ट्रेडेबल) र विक्री गर्न अयोग्य (ननट्रेडेबल) छन् । ननट्रेडेबल सेयरधनीले पनि झुक्किएर संस्थापक सेयर विक्री गर्नुभएको र त्यसपछि उहाँलाई कारवाही भएको थियो । त्यसैले यस्तो समस्या नआओस भनेर ननट्रेडेबल सेयर जति रोक्का राखिएको हो,’ सुचना अधिकारी शर्माले वडापालिकासँग भने ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अहिले ३४ करोड १२ लाख कित्ता सेयर छन् । यसमध्ये करिब २७ प्रतिशत साधारण, ६ प्रतिशत संस्थापक (ट्रेडेबल) र बाँकी ६७ प्रतिशत संस्थापक (ननट्रेडेबल) सेयर छन् । बैंकले अहिले ननट्रेडेबल (६७ प्रतिशत) सेयर रोक्का राखेको हो । यसरी सेयर रोक्का राख्दा ती सेयरधनीको कुनै अनुमति नलिएको सेयरधनीहरुले बताएका छन् । बैंकको संस्थापक सेयर विक्री गर्न बैंक संचालक समितिको अनुमति जरुरी हुने भएपनि सेयरधनीको अनुमतिविना रोक्का राखेर बैंकले नै अधिकार जमाए जसरी राखेको छ ।

सामान्यतः बैंकको संस्थापक सेयरधनीले बैंक संचालक समितिको अनुमति लिएर मात्रै सेयर बेच्न पाउँछन् । तर, इन्भेष्टमेन्ट मेगा बैंकमा रहेका करिब ६ प्रतिशत संस्थापक सेयर भने साधारण सेयर जसरी नै दोस्रो बजारमा कारोबार गर्न पाइन्छ । ट्रेडेबल संस्थापक सेयरको नाममा ननट्रेडेबल सेयर पनि विक्री हुन थालेपछि यसरी रोक्का राखिएको बैंकको भनाइ छ ।

सो बैंकको ट्रेडेबल संस्थापक सेयरको सिम्बोल एनआइएमविपिओ छ । ननट्रेडेबल संस्थापक सेयरको सिम्बोल पनि यही छ । त्यसैकारण ननट्रेडेबल सेयरको कारोबार रोक्न गाह्रो हुने भन्दै नेप्से र सिडिएससीको सहमतिमा सेयर रोक्का राखिएको बैंकको भनाइ छ । बैंकको संस्थापक सेयर दुई प्रकारका भएपनि आइजिन नम्बर एउटै छ । 

के गरी भए दुईथरी संस्थापक ?

साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको हो । साविकको इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय वाणिज्य बैंकको १५ प्रतिशत संस्थापक सेयर थियो । किनभने सो समयमा एउटा बैंकले अर्काे बैंकको संस्थापक सेयर लिन पाइने नीतिगत व्यवस्था थियो ।

तर, २०७० सालपछि नेपाल राष्ट्र बैंकले एकै प्रकृतिका बैंक वित्तीय संस्थाले अर्काे बैंक वित्तीय संस्थाको सेयर राख्न नमिल्ने नीतिगत व्यवस्था गर्यो । सोही कारण राष्ट्रिय बाणिज्य बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत संस्थापक सेयर लिलाम बढाबढमा विक्री गर्यो । वाणिज्य बैंकले इन्भेष्टमेन्ट बैंकको करिब ७० लाख कित्ता सेयर २०७१ साल पुस पहिलो साता विक्री गरिसकेको थियो । सोही सेयर अहिले पनि दोस्रो बजारमा कारोबार हुने (ट्रेडेबल संस्थापक सेयर) हो । इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्पन्न भएको केही समयपछिदेखि नै ननट्रेडेबल संस्थापक सेयर रोक्का राखिएको संस्थापक सेयरधनीहरुले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update