काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले बुधबार पक्राउ गरेको हो ।
स्मार्ट टेलिकमले सरकारको ७ अर्ब रुपैयाँ (लाइसेन्स दस्तुर बाहेक) राजस्व बक्यौता बुझाउन बाँकी छ । राजस्व बुझाएर लाइसेन्स नवीकरण नगरेपछि सरकारले गत वर्ष नै स्मार्टको लाइसेन्स खारेज गरी सो कम्पनीको सम्पत्ति सरकारको हुने निर्णय गरेको थियो ।
तर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरी विक्री गरेको थियो । स्मार्टको सम्पत्ति बैंकले लिलाम गरी एनसेललाई विक्री गरिएको थियो । यही प्रकणमा सिआइबीले बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई पक्राउ गरेको हो ।
उनी मोबाइल अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुली जिल्लाको सिन्धुली बजारबाट पक्राउ गरिएको सिआइबीको भनाइ छ ।





