एनसेलमा सिआइबीको छापा, यस्तो छ कारण

काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले छापा मारेको छ ।

स्मार्ट टेलिकमको उपकरण खरिदबारे अनुसन्धान गरिरहेको सीआईबीले एनसेल पुगेर छापा मारेको सिआइबी स्रोतले जानकारी दियो ।

यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरेको थियो।

बैंकले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्धनिर्देशक सर्वेश जोशीसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्न बोलपत्र आह्वान गरेको थियो। त्यसमा स्मार्ट टेलिकमको सम्पत्ति सकार्न तीनवटा संस्थाहरूले सिलबन्दी बोलपत्र पेस गरेका थिए। 

जसमा ट्रान्सगेट टेक प्रालिले ४४ करोड ५० लाख, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख र एनसेल आजियाटा लिमिटेडले चार अर्ब ६० करोड रुपैयाँको बोलपत्र पेस गरेका थिए। 

एनसेलको बोलपत्र बैंकले असुल गर्नुपर्ने तीन अर्ब ९५ करोड रुपैयाँभन्दा बढी भएकाले बैंकले उक्त बोलपत्र स्वीकृत गरेको थियो।

त्यसपछि बैंकले उक्त टेलिकमका उपकरण एनसेललाई ४ अर्ब ६० करोडमा बिक्री गरेको थियो। उक्त टेलिकम समयमै नवीकरण नगरेपछि सरकारको मातहतमा आएको थियो। सीआईबीले अहिले सरकारको सम्पत्ति बिक्री गरेको भन्दै खरिदकर्ता र बिक्रीकर्ताविरुद्ध अनुसन्धानलाई तीव्रता दिइरहेको छ।

एनसेलले भने दूरसञ्चार कम्पनी स्मार्ट टलिकमका उपकरण तथा टावरहरु लिलाम सम्बन्धी केही कागजातहरु सीआईबीबाट पत्रमार्फत माग भई आएकोमा सोही बमोजिम कागजातहरु उपलब्ध गराइएको जानकारी दिएको छ । एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदा झै कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको एनसेलको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १५:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update