विहान गृहमन्त्री सोफामा सुतेको फोटो सार्वजनिक, दिउसो २ वटा सहकारीका अध्यक्ष र संचालक पक्राउ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले चैत २० विहान मन्त्रालयको सोफामा सुतेको फोटो सार्वजनिक गरे ।

मन्त्री गुरुङले सामाजिक संजाल फेसबुकमा हालेको सो फोटोलाई लिएर सामाजिक संजालमा विभिन्न प्रकारका टिकाटिप्पणी पनि भयो भने केही संचारमाध्यमले मन्त्रीले रातभर मन्त्रालयमै बसेर काम गरेको र सोफामै सुतेको भन्दै समाचार पनि बनाए ।

तर, शुक्रबार अपरान्ह भने २ वटा सहकारीका अध्यक्ष र संचालक पक्राउ परेको समाचार सार्वजनिक भएको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गोरखा सेभिङ एण्ड क्रेटिट सहकारी संस्थाका अध्यक्ष र संचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।

उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।

सो सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो । तर ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ प्रवाह गरेको देखिएको छ ।

बाँकी रकमको विवरण भने केही पनि भेटिएको छैन । उक्त रकम हिनामिना गरेका आरोप छ ।

यस्तै शुक्रबार नै कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो ।

सो सहकारीले साढे ५ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update