काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानमा छेडखान गर्नेतर्फ सरकार अगाडि बढेमा प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले संविधानमा छेडखान र राष्ट्रिय हितमा आँच आउने काम भएमा सडक र सदन दुवैबाट प्रतिकार गर्ने बताएका हुन् ।
'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'
विद्यार्थी र कर्मचारीको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले सतर्क रहन आग्रह गरे । संविधान संशोधनको विरोधी नभएको पनि उनले स्पष्ट पारे । 'संविधान संशोधनका पनि कुरा चलेका छन्, हामी संविधान संशोधनको विरोधी होइनौं, तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नका लागि हुनुपर्छ,' उनले भने ।






